२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

साउदी अरबमा पहिलो पटक नेपाली चलचित्र ‘छक्कापञ्जा ५’ प्रदर्शन हुँदै

Nada
अन्जान गुभाजु
२०८१ असोज २८ गते ०८:५२
Shares
साउदी अरबमा पहिलो पटक नेपाली चलचित्र ‘छक्कापञ्जा ५’ प्रदर्शन हुँदै

साउदी अरबः साउदी अरबमा नेपाली चलचित्र ‘छक्कापञ्जा ५’ प्रदर्शन हुने भएको छ। साउदी अरबमा ऐतिहासिकरुपमा पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन लागेको जानकारी नेप–फिल्म्सका प्रमुख रमेश ढकालले दिएका छन्। खाडी मुलुकहरूमध्येको ठूलो र महत्वपूर्ण देश मानिने साउदी अरबका करिब २० हलहरूमा आगामी अक्टोबर १७ (कात्तिक १) देखि ‘छक्कापञ्जा ५’ प्रदर्शन हुने भएको छ।

ncell

ढकालले चलचित्रको टिकट शुल्क ४२ रियाल राखिएको र छिट्टै टिकट बुकिङ व्यवस्थाका बारेमा जानकारी दिने बताएका छन्। साउदीमा नेपाली दर्शकहरूको ठूलो सहभागिता हुने अपेक्षा गरिएको छ।

साउदी सरकारद्वारा सन् २०१८ मा विदेशी चलचित्रमाथि लगाइएको ३५ वर्ष लामो प्रतिबन्ध हटाइएपछि पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुने भएको हो। प्रतिबन्ध हटेपछि हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ पहिलो विदेशी चलचित्रको रुपमा रिलिज भएको थियो। साउदी सरकारको सन् २०३० सम्म ३५० हल र २५०० पर्दा निर्माण गर्ने योजना रहेको छ । जसले देशमा चलचित्र क्षेत्रको विकासलाई गति दिने अपेक्षा गरिएको छ।

यो ऐतिहासिक अवसरले साउदीमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा र संस्कृति जोड्ने अवसर प्रदान गर्ने अपेक्षा प्रमुख ढकालको छ । ‘छक्कापञ्जा ५’ मा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ।

यो चलचित्र नेपालमा रिलिज भएसँगै मध्यपूर्वका अन्य देशहरूमा पनि प्रदर्शन भइरहेको छ । युएई, कतार, बहराइन र ओमानमा पनि यो चलचित्र देख्न पाइनेछ भने मलेसिया र माल्दिभ्समा पनि प्रदर्शन हुनेछ। साथै अमेरिकामा प्याट्रिक सुवेदीले  ‘छक्कापञ्जा ५’ लाई प्रदर्शनमा ल्याउनेछन् ।

सम्बन्धित खबर