–नारायण नेपाल
आज सुनसान छ, गैरा थोक गाउँ । उत्तरतिर टिलिक्क टल्केको हिमालको लहर उस्तै अटल छ । तल महादेव फाँट किनारमा अविरल बगेको त्रिशूली नदीको गति उस्तै छ । यो गाउँ छाडेर बसाइँ हिँड्नेहरूको ताँतीमा २०७२ सालको भूकम्पपछिको समय बेसी झर्नेको लामो लर्कोले गाउँ लगभग खाली छ । हिजो र आज बदलिएको यो गैरा थोक गाउँको दैनिकीभन्दा नबदलिएका अविरल त्रिशूली र हिम शृङ्खलाका लहरहरू उस्तै छन् ।
एउटा समय थियो, देशभर नयाँ जनसत्ता घोषणाको लहर चलेको । २०५८ साल भदौ १ गते रातमाटे गाविसमा गाउँ जनसरकार घोषणाको कार्यक्रम थियो । रमेश लामिछाने ‘विवेक’ प्रमुख र रामचन्द्र राई उपप्रमुख रहेको गाउँ जनसमिति गठन भयो । हामी विद्यार्थी सङ्गठनमा आबद्ध थियौँ । त्यो रातमाटे मानके डाँडाको सभाको भन्दा पनि त्यो सकिएपछि घर फर्कँदा सालघारीको उकालोमा पाएको दुःख मानसपटलमा ताजै छ ।
हँसिलो अनुहारका रमेश उर्फ ठुले भाइ (गाउँमा बोलाउने नाम) एक दिन जनसेनाको लस्करसहित देउरालीमा देखा परे । अम्खोरा भरीको पानी सासै नरोकी पिउने जनसेनाको ताँतीमा मेरा लागि परिचित तीन अनुहार थिए । कमरेड विवेक, कमरेड हिमशिखर र कमरेड अनिशा । तर, विवेक दाइ र मेरो त्यही देख भेट नै अन्तिम बन्न पुग्यो ।
उमेर ढल्दै गयो, रोगले च्याप्दै आयो । मझेरी र आँगन, पिँढीमा सीमित चक्रबहादुर लामिछाने अहिले तिन बिस हिउँद पार गरेर जीवन यात्रामा छन् । २०७९को संघ, प्रदेश निर्वाचनमा उम्मेदवार बनेका रामप्रसाद ढुङ्गानासँगै हामी उनैको दैलोमा हाजिर भएका थियौँ । राजनीतिमा अधिक चासो थियो उनलाई । त्यसैले होला, “फुच्चे नातिको के भर बाबु ! यो बुढो यसो गौडातिर बस्न पाए दुई/चार भोट दिन्थे कि ?” बुढा बाले साउती मार्दै मेरो कानमा भने । टुहुरा नाती÷नातीना हुर्काएका सहिदका बाको त्यो उत्साह र आत्मविश्वासलाई मैले प्रेरणाको रूपमा लिएँ । उनै सहिदका साना पुन्टे राजेश र फुच्ची रोजिना अहिले आफ्नो घरबार सम्हाल्न थालेका छन् । उनीहरू आफैँ बा–आमा बनिसके । हजुरबा उही नातिको साथमा छन् ।
सानैदेखि जिज्ञासु र विद्रोही स्वभावका विवेकको बाल्य अवस्था गैरा थोकमा नै बित्यो । निम्न किसान वर्गीय परिवारमा जन्मिएका उनको बालककाल संघर्षपूर्ण नै रह्यो । प्रारम्भिक अवस्थादेखि कक्षा आठसम्मको अध्ययन उनले कामरदेवी उच्च मा.वि. दुई पिपलबाट पूरा गरेका थिए । अध्ययनकै सिलसिलामा कक्षा आठ पास गरी कक्षा नौको लागि उनी रातमाटेकै महादेव उ.मा.वि. तिर लागे । पारिवारिक अवस्था र विभिन्न समस्याले गर्दा छिट्टै विवाह बन्धनमा बाँधिन पुगेका थिए ।
आन्दोलनमा जोडिने अवस्था
घरको आर्थिक संकट र गरिबीको चपेटामा परेका विवेक कक्षा नौमा अध्ययन गर्दागर्दै अध्ययनलाई थाती राखेर पैसा कमाउने र सुखका दिन आउने सपनामा घर छाडेर भारततिर लागे । गाउँकै पुराना आउने जाने चिने जानेका मान्छेको सम्पर्कमा भारत पुगेका उनले गोर्खा सेक्युरिटिजमा जागिर पाए । परदेशी भूमिमा सुरक्षा कबज बन्दै घाँटीभरी गोलीका माला लगाएर हातमा राइफल बोक्दै दिनको १२ देखि १६ घण्टासम्म अहोरात्र खटिरहे ।
भारतीय सहरका गल्ली गल्लीमा कुल्लीहरू नेपाली नै देखिन्थे । घर घरका पहरेदार पनि गोर्खाली नै थिए । उनीहरू आफ्नो जिउ ज्यानको बाजी लगाएर आँसु र पसिना बगाउँदै अहोरात्र खट्थे । पराइ भूमिमा नेपालीहरू दुःख गर्दथे, दुःखले जोडेको दुई÷चार पैसा पनि लुटिन्थ्यो अनि हेपिन बाध्य हुन्थे । यी परदेशीको कथा व्यथा यस्तै थियो ।
घरपरिवारमा एउटा व्यथा, परदेशमा अर्को कथा । पराइ भूमिमा यस्तो अपमान र शोषणलाई कुन स्वाभिमानी नेपाली आत्माले स्विकार्न सक्थ्यो र ? समय क्रमसँगै अन्तरमनमा धेरै कुराहरू खेलाउँदै फेरि आफ्नै मातृभूमिमा फर्किए । बरु देशमै दुःख गर्ने र देशकै लागि लड्ने, मर्नै परे देशमै मर्ने नयाँ सपना लिएर २०५६ सालमा नेपाल फर्किएका उनको मन माओवादी आन्दोलनतर्फ लागिसकेको थियो । नेपालमै रहँदा उनी २०५३ सालमा नै अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी)का सदस्य बनिसकेका थिए । नेपाल फर्केपछि उनले आफ्नो सङ्गठन आबद्धतालाई निरन्तर अगाडि बढाइरहे ।
यता समय क्रम सँगै पुरानो सत्ताको शोषणबाट मुक्ति पाउनका लागि जनताको नयाँ सत्ता स्थापना गर्ने अभियानको लहरले देशै छपक्क छोपेको थियो । २०५८ साल असोज १ गते रातमाटे गा.वि.स.को महादेव मा.वि.को प्राङ्गणमा भएको गाउँ जनसरकार घोषणा समारोहबाट सामेल बने । वर्ग युद्ध लड्ने अठोटसहित उनी सहभागी भएका थिए । उनी तत्कालीन रातमाटे गाउँ जनसरकार प्रमुखको जिम्मेवारी समाल्दै थिए ।
सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन भन्ने माओको भनाइझैँ आत्मनिर्णयको अधिकार र स्वायत्ततासहित जनताले पाएको न्याय, समानता र स्वतन्त्रताको जनवादी सत्ताको रक्षा गर्दै सर्वहारा वर्गीय मुक्तिको एउटा भरपर्दो र दरिलो साधनको रूपमा जनमुक्ति सेना नेपाल गठन भएको थियो । युद्ध बढ्दै जाँदा सरकारले देशमा २०५८ मंसिर ११ गतेबाट सङ्कटकालीन अवस्था घोषणा ग¥यो । त्यसपछिका समयमा जनसत्ताको काम अरू सहयोद्धालाई जिम्मा लगाएर उनी जनमुक्ति सेनामा लामबद्ध भए ।
उनी ढलेपछि...
देश वर्ग युद्धको तुफानी केन्द्र बन्दै अगाडि बढिरहेको थियो । क्षण क्षणमा उथलपुथल भइरहेको हुन्थ्यो । त्यस्तै भयो, २०६२ सालको असार ९ गतेको दिन । ताजी गाउँमा मध्यान्ह १२ बजेको समयमा सेल्टर गरीको घरमा तत्कालीन साही सेनाले घेरा हाल्यो । केही जोगिए तर, विवेक सेनाको कारबाहीमा परे । उनी सेनाको गोली लागेर ढले । यसरी झिल्टुङ रातमाटे गैरा थोकमा जन्मेर सुन्दर समाज बनाउने सपनामा एउटा युद्धले ज्यान गुमाए ।
विवेकले इमानदारितापूर्वक जे सपना देखेका थिए, ति केही पूरा भएका छन् तर, अधिकांश अधुरो छन् । जनयुद्ध एउटा सम्झौतामा टुङ्गियो । देशमा फेरि अर्को रूपको व्यवस्था जन्मिएको छ । तर, जनयुद्धका अधिकांश सपना अझै अधुरै छन् । यो लेखिरहँदा उनको सपनाहरू पूरा गर्न अर्को आन्दोलनको कल्पना गरिरहेको छु ।