२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जनताको पसिना धेरै बेचियो, रगत बेच्न मिल्दैन : ऊर्जामन्त्री

Nada
२०८२ साउन १६ गते २१:३३
Shares
जनताको पसिना धेरै बेचियो, रगत बेच्न मिल्दैन : ऊर्जामन्त्री

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले आफुहरु जनताको पसिना बेचेर समृद्धि ल्याउन चाहेको बताएका छन् । शुक्रबार आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा उनले भने, ‘जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन ।’

ncell

मन्त्री खड्काले उत्पादित विद्युत्को उचित मूल्य प्राप्त गर्दै मुलुकलाई समृद्ध बनाउने यात्रामा सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे । समृद्धि इनर्जी प्रालिको अगुवाइमा निर्माणाधीन उक्त आयोजनाको वित्तीय व्यवस्थापनका लागि आयोजित कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रको उत्साहजनक सहभागिताले ऊर्जा क्षेत्रमा नयाँ आशा थपिएको बताए । ‘निर्माणकालागि आवश्यक सम्पूर्ण वित्तीय व्यवस्थापनको चरण पार भएको छ । अब यो आयोजना समयमै सम्पन्न हुने विश्वासका साथ अघि बढाइएको छ,’ मन्त्री खड्काले भने । 

उनले ऊर्जा मन्त्रालय मुलुकको दीर्घकालीन समृद्धिको आधार ऊर्जा क्षेत्र हो भन्ने बुझाइका साथ तीव्र गतिमा अघि बढिरहेको उल्लेख गरे । ‘हामी निजी क्षेत्रलाई निरुत्साहित गर्ने प्रवृत्तिलाई स्थान दिन्दैनौं। बुझाइ र भोगाइमा आधारित अवरोधहरूले अब विकास रोकिनेछैन,’ उनले भने । 

मन्त्री खड्काले लामो समयदेखि विद्युत् खरिद सम्झौता पीपीए रोकिएको, बजार सुनिश्चितता नभएको र ट्रान्समिशन लाइनको अभावजस्ता समस्याले निजी क्षेत्र हतोत्साहित बनेको भए पनि अब ती अवरोध क्रमशः हट्दै गएको बताए । ‘देशभित्र १३ हजार ५ सय मेगावाट विद्युत खपत गर्न सकिने सम्भावना छ । भारत र बंगलादेश निर्यात सुरु भइसकेको अवस्थामा अब हाम्रा स्रोत र उत्पादनको सदुपयोग नगर्ने प्रवृत्तिले देशलाई पछि पार्छ,’ मन्त्री खड्काले स्पष्ट गरे । 

राष्ट्रिय स्रोत साधनको समयमै उपयोग गरेर दिगो आर्थिक विकास सम्भव हुने विश्वास व्यक्त गरे । यस्ता आयोजनाहरूमा देखिने समस्या समाधान गर्ने जिम्मा सरकारले लिनैपर्छ भन्ने धारणा उनले राखे । समृद्धि इनर्जीका प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र गुरागाईं र कुमारी बैंकका तर्फबाट रामचन्द्र खनालबीच वित्तीय व्यवस्थापन सम्झौतापत्रमा हस्ताक्षर भई कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, ऊर्जा विज्ञहरू, निर्माण क्षेत्रका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । वक्ताहरूले माथिल्लो सेती आयोजना नेपालको ऊर्जा सुरक्षाको दृष्टिकोणले मात्र नभई आर्थिक उत्थानका लागि पनि महत्वपूर्ण कडी हुने धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित खबर