इटहरी : घटना नं. १ : २०८२ साउन ७ गते सुनसरीको देवानगन्ज–३ का मोहम्मद रियाज अन्सारीले अंश विवादमा छुरा प्रहार गरी ६० वर्षीय बाबु सबिब अन्सारीको हत्या गरे । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हत्यामा संलग्न अन्सारीलाई नियन्त्रणमा आएका छन् र थप अनुन्धान भइरहेको छ ।
घटना नं. २ : २०८२ वैशाख ५ गते सुनसरी इटहरी उपमहानगर–२ की २४ वर्षीया चुनकुमारी दाहालको हत्या भयो । यो हत्या कोरियामा रहेका ३१ वर्षीय श्रीमान् प्रेमबहादुर बुढाथोकीले बनाएको योजनाअनुरूप भएको आशंका छ । यसमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
घटना नं. ३ : २०८२ असार २१ गते भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ को धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भयो । पाहुना बनेर ससुराली आएका भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले श्रीमती मनीषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीकोे हत्या गरेको आरोप लागेको छ । राई प्रहरी नियन्त्रणमा छन् ।
कतिपय अपराधमा आफन्तको संलग्नता रहँदा समाजमा त्रास पैदा गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो पाँच वर्षमा ३९ जनाले ज्यान गुमाएको घटनामा आफन्तको संलग्नता रहेको देखाउँछ ।
यही २०८२ साउन ७ गते सुनसरीको देवानगन्ज–३ का ६० वर्षीय बाबु सबिब अन्सारीको हत्या भयो । सबिबलाई अंश विवादमा उनकै छोरा मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हत्यामा संलग्न अन्सारीलाई नियन्त्रण छन् र थप अअनुन्धान भइरहेको छ ।
यस्तो घटना विगतमा पनि भएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को असार मसान्तसम्ममा आफन्तकै संलग्नतामा ३९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो एउटा घटना थपिएपछि यस्तो संख्या ४० पुगेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा १ हजार २२ वटा हत्याका घटना भएका छन् । जसमा ४० वटा घटनामा आफन्त नै संलग्न रहेको पाइएको हो ।
हत्यामा संलग्न रहेको आरोपमा ७ सय ५ जना पक्राउ परेका छन् भने ३ सय ६३ जना फरार रहेका छन् । ३४ जना गम्भीर र १ सय ६३ जना सामान्य घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
गएको आर्थिक वर्ष २०८१÷८२ मा मात्रै २ सय ४२ हत्याका घटना भएका छन् । जसमा १६ जना आफन्तबाटै मारिएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
यही अवधिको घटनामा संलग्न १ सय ९० जना पक्राउ परेका छन् भने ६९ जना फरार रहेको प्रहरी तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ मा २ सय ४२ हत्याका घटना हुँदा १५ जना गम्भीर र १ सय २ जना सामान्य घाइते भएका छन् । यस अवधिमा भएका घटनामा नौ जना अबोध बालबालिकाले समेत ज्यान गुमाएको प्रहरी तथ्यांकले उल्लेख गरेको छ ।
गएको २०८० चैत ७ गते मोरङको बेलबारीमा आफ्नै श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरे । बेलबारी–१ स्थित ६५ वर्षीय बमबहादुर लिम्बुले ७ गते मंगलबार राति ४५ वर्षीया श्रीमती गीता लिम्बुको हत्या गरेर आफूले पनि आत्महत्या गरे ।
२०८० चैत २ गते मोरङ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या भएको तीन दिनपछि प्रेमीले पनि आत्महत्या गरेका थिए । स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या आरोपी युवक सिरहाकै २२ वर्षीय शिवशंकर दास अस्पतालनजिकैको होटलमा मृत भेटिएका थिए ।
अपराधका घटनामा आफन्त नै संलग्न रहेको देखिँदा सामाजिक सद्भाव खलबलिनुका साथै पारिवारिक सुरक्षाप्रति प्रश्न उठ्न थालेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एसपी दीपक पोख्रेलका अनुसार अधिकांश आफन्त जोडिएका अपराधका घटनामा प्रेम, यौन र धन पैसा मुख्य कारण रहेको पाइएको छ ।
विराटनगर नर्स हत्यामा प्रेम जोडिएको देखिन्छ भने भोजपुरको सामूहिक हत्याकाण्डमा पनि प्रेम कारक बनेको प्रवक्ता पोख्रेलले मध्यान्हलाई बताए । त्यस्तै, साउन ७ गते देवानगन्जमा भएको हत्या प्रकरणमा धन पैसा मुख्य कारण बनेको उनको भनाइ छ ।
लामो समयदेखि अपराध अनुसन्धानमा खटिएका सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार पारिवारिक सम्बन्धलाई बलियो बनाउन नसक्नु, एकअर्काप्रति विश्वास गुम्नु र अझ त्यसभन्दा खतरनाक सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले यस्ता अपराध निम्तिने गरेका छन् ।
यस्ता घटना निर्मूल बनाउन प्रहरी एक्लेले नसक्ने हुँदा स्थानीयस्तरबाटै योजना बनाएर कार्यक्रम ल्याउनुपर्ने एसपी तिम्सिना बताउँछन् ।