काठमाडौं : नेकपा एकीकृत समाजवादीमा बसेर पार्टी निर्णय र नेतृत्वविरुद्धमा लाग्दै आएका नेताहरूले आधा माया नेकपा (एमाले)तर्फ देखाउँदै आएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारवादी शैली, गैरसंवैधानिक र पार्टी विधानविपरीतका गतिविधि थाम्न नसकेर नयाँ पार्टी दर्ता गरेका उनीहरू अहिले आएर एमालेप्रति नरम र आफ्नै नेता माधव नेपालप्रति गरम देखिएका हुन् ।
पार्टी स्थापनाताका नेता माधवकुमार नेपाललाई हात समाएर दल दर्ताका लागि निर्वाचन आयोग पु¥याउने रामकुमारी झाक्रीदेखि पार्टीका शीर्ष नेताहरू नै एमालेप्रति सकारात्मक देखिएका छन् । एमालेबाट चोइटिएर बनेको नेकपा एसको नेतृत्व गरेका माधवकुमार नेपाल दोस्रो कार्यकाल अध्यक्ष बनेका छन् । नेपाललाई अध्यक्षमा टक्कर दिन नयाँ पुस्ताका नेता घनश्याम भुसाललगायतले कम्मर कसे पनि अन्ततः दोस्रो कार्याकालमा आफैं अध्यक्ष बनेपछि नेताहरू नेपालप्रति रिसाएका छन् ।
पार्टीको गत वर्षको महाधिवेशनमा वर्तमान सम्मानित नेता झलनाथ खनाल पनि अध्यक्षको दाबेदार थिए । महाधिवेशनमा अध्यक्ष बन्ने खनालको योजना तुहिएपछि उनले केही समयअघि मात्रै एमालेबाट आएका घनश्याम भुसाललाई अध्यक्षको आकांक्षी बनाएका थिए । त्यसयता माधव नेपालसँग झलनाथको सम्बन्धमा थप दरार उत्पन्न भएको विभिन्न गतिविधिबाट देखिएका छन् । गत साउन २ मा एकीकृत समाजवादीमा विलय भएका वामदेव गौतमको भूमिका माओवादीसँग भन्दा पनि एमालेसँग एकता गर्नुपर्नेमा जोड दिएका छन् । तर पार्टी अध्यक्ष नेपाल भने माओवादीसँग एकता गर्न सकिने पक्षमा छन् ।
पार्टी उपाध्यक्ष लडेकी नेतृ रामकुमारी झाक्री पार्टीमा सबैभन्दा उग्र कान्तिकारी र एमालेविरोधी बनेकी थिइन् । तत्कालीन सरकारले गरेको संसद् विघटनको विरोधमा खरो उत्रिएकी उनी अहिले उही एमालेप्रति नरम देखिएकी छन् । पार्टी स्थापनाको समयमा अध्यक्ष माधव नेपालको सबैभन्दा नजिकको सहयोगी बनेर काम गरेकी झाक्री एमालेमा जाने तयारीमा रहेकको नेकपा एसकै नेताहरूले बताउँदै आएका छन् । पतञ्जली जग्गा प्रकरणमा मुछिएपछि अध्यक्ष नेपालप्रति लक्षित गर्दै झाँक्रीले भनेकी थिइन्, ‘अब पार्टीमा मरेको सिनो बोकेर हिँडिरहन सकिँदैन ।’ उनको यो अभिव्यक्तिपछि पार्टीले स्पष्टीकरण नै सोधेको थियो ।
सो स्पष्टीकरणपछि पार्टीमा झनै ठूलो तनाव आएको छ । पार्टी जिम्मेवारीअनुसार सम्मानीत नेता झलनाथ खनाल र केही दिनअघि नेकपा एसमा प्रवेश गरेर वरिष्ठ नेताको जिम्मोवारी पाएका एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष नेपालप्रति रुष्ट छन् । यसै सन्दर्भमा पछिल्लोपटक शुक्रबार नेकपा एसका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच वाकयुद्ध नै चलेको छ । खनालले एक अन्तर्वार्तामा एमाले फुटाउनु गल्ती थियो भनेका छन् । खनालको उक्त अभिव्यक्तिप्रति अध्यक्ष नेपालले खरो प्रतिवाद गरेका छन् ।
उनले खनाललाई नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिए । नेपालले पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको अभिव्यक्ति दिनु पार्टी नीतिविपरीत रहेको बताए । ‘उहाँले एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ, त्यस्तो बोलेको हो भने उहाँलाई नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु ।’ खनालले पटकपटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेको भन्दै नेपालले उनको भनाइको अर्थ नरहेको टिप्पणी गरेका छन् ।
यद्यपि पार्टीको आन्तरिक समस्या र एमालेसँग नेताहरूको निकटताका सन्दर्भमा पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा एसभित्र अनेकन खेलहरू भइरहेको भन्दै यसप्रति पार्टी नेता कार्यकर्ताहरू सचेत रहनुपर्ने बताए । ‘नेकपा एसलाई कमजोर बनाउन अनेकन खेल भइरहेका छन्,’ उनले भने ‘पार्टीका जिम्मेवार नेताहरूले पनि बोल्दा अलि विचार पु¥याउनुपर्छ । विरोधी शक्तिहरूले पार्टीमा खेलेको विषय आमनेताकार्यकर्ताले बुझेर पार्टी एक ढिक्का बनाएर लानुको विकल्प छैन ।’
नेकपा एसभित्रको आन्तरिक विवाद र नेताहरूबीचको टकरावका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा समेत कुरा उठेको नेकपा माओवादी केन्द्रका नेताहरूले बताए । बैठकका एजेन्डासहित पछिल्लो घटनाक्रमका विषयमा ब्रिफिङ गर्ने क्रममा नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता सकारात्मक भएको जानकारी गराए । साउन ११ र १२ गते प्रचण्ड निवास खुमलटार र सिंहदरबारमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भएको छलफलबारे प्रचण्डले बैठकलाई जानकारी गराएका छन् ।
सो बैठकमा पार्टी एकताका लागि नेकपा एसका अध्यक्ष नेपाल सकारात्मक देखिए पनि सम्मानित नेता झलनाथ खनाल र पछिल्लो समय पार्टी प्रवेश गरेका वामदेवको भूमिकाका कारण एकताको पहलकदमीमा अवरोध आउन सक्ने बताएको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘एकीकृत समाजवादीसँगको एकता सकारात्मक छ । तर झलनाथ र वामदेवको एकता प्रक्रिया रोक्ने खालका गतिविधि र अभिव्यक्ति आइरहेका छन्,’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै सापकोटाले भने ।