काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मकुमार भूसालले आफ्नो कार्यालयबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका युवाहरुलाई विमानस्थलबाट फर्काएकोमा कडा शब्दमा आपत्ति जनाएका छन् ।
स्वीकृति लिएर गएका सिधासाधा व्यक्तिलाई विभिन्न बहानामा त्रिभुवन विमानस्थलमा बोर्डिङ पास नदिई त्यसको कारण समेत नखुलाई फिर्ता पठाउने गरिएको गुनासो विभागमा प्राप्त भइरहेको भन्दै बिहीबार साँझ महानिर्देशक डा. भुसालले भनेका छन्, ‘यसले उनीहरुको जहाज टिकट बापतको रकम नोक्सान भएको मात्र होइन, कतिपयले समयमै कम्पनीमा पुग्न नसकेर जागिर गुमाउन परेको अवस्था समेत विद्यमान छ । उनीहरुलाई फर्काउनुपर्ने कुनै जायज कारण भएमा लिखित कारण खोलेर दिनुपर्छ । संबिधानले प्रत्याभूत गरेको सूचनाको हक सबै नेपालीलाई छ ।’
अध्यागमन कर्मचारीले सरकारी निकायबाट श्रम स्वीकृति लिएर गएका कामदारलाई पटक–पटक दुःख दिने गरेको गुनासो रहेको छ । सरकारले क्षतिपूर्ति सहितको निजामति प्रशासन भनेपनि प्रक्रिया पुर्याएर हिँडेका कामदार फर्काउन उनीहरुलाई ठोस कारण चाहिँदैन ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेको कारबाहीको बदला लिन अध्यागमन कार्यालयका कर्मचारीले हचुवाका भरमा फर्काइदिएका थिए । कामदारलाई विदेश जान रोक लगाउने अध्यागमन कर्मचारीको कार्यशैलीले वैदेशिक रोजगार व्यवसायी पनि हैरान छन् । सबै प्रक्रिया पूरा गरेर पठाएका कामदार उडेको खबर नआएसम्म व्यवसायीहरु बेचैन हुने गरेको एक व्यवसायी बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies