२०८१ कार्तिक २९ गते बिहिवार / Nov 14 , 2024 , Thursday
२०८१ कार्तिक २९ गते बिहिवार

बद्‍नाम बनिरहेको राजनीति

ADV
२०८१ कार्तिक २७ गते ०६:२५
बद्‍नाम बनिरहेको राजनीति

जापान भ्रमणका क्रममा मानव तस्करी प्रकरणमा जोडिन पुगेपछि लिलाबल्लभ अधिकारीले कोशी प्रदेशका आन्तरिक मामला मन्त्रीबाट राजीनामा दिए । उनको राजीनामा लगत्तै नेकपा एमालेले सम्पूर्ण पार्टी हैसियतबाट निस्कासन ग¥यो, प्रहरी पक्राउमा परे । आइतबार अधिकारीलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको छ । 

कोशी प्रदेशका  एमाले सांसद एवं आन्तरिक मामिला मन्त्री नै मानव तस्करीमा जोडिएको समाचार आइरहँदा गण्डकी प्रदेशका सांसद् एवं पूर्वमन्त्री दीपक मनाङ उर्फ राजीब गुरुङ ज्यान मुद्दामा दोषी ठहर भए । गण्डकी प्रदेश सभामा निर्विरोध सांसद रहेका मनाङे ६ पटक मन्त्री भइसकेका व्यक्ति हुन् । तर ज्यान मुद्दामा ५ वर्ष कैद सजायको फैसला सदर भएका मनाङेको मुद्दा भने २१ वर्ष पुरानो हो । २०६१ सालमा चक्रे मिलनमाथि खुकुरी प्रहार घटनामा मनाङे आरोपित थिए । गुण्डागर्दी पृष्ठभूमिकै चक्रे मिलनलाई खुकुरी प्रहार गरेको आरोपमा मनाङे पटकपटक पक्राउ पर्ने गरेका थिए । तर उच्च अदालतबाट १० वर्ष भन्दा कम सजाय भएका व्यक्तिले बाहिरै बसेर मुद्दा लड्न पाउने व्यवस्था उनले उपयोग गरेका थिए । 

अर्थात् दोषी ठहर भएर पुनरावेदनका क्रममा रहेका मनाङे गण्डकी प्रदेश सभामा दोहोरिएर सांसद भए । ठूला दलहरुले उनलाई पटकपटक मन्त्री बनाए । गत १७ असारमा सरकार फेरिदा पनि उनी मन्त्री नै थिए, र निरन्तरता दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आग्रह गरेका थिए । तर मनाङे आफैले मन्त्री नहुने अडान लिएर राजीनामा बुझाएका थिए । उनै मनाङेको मुद्दामा सुनुवाइ गर्दै ५ वर्ष कैद सजायको फैसला सर्वोच्चबाट सदर भयो । प्रदेशको गृह प्रशासन हेर्ने मन्त्री अधिकार मानव तस्करीको आरोपमा पक्राउ पर्नु र पटकपटक मन्त्री बनेका मनाङे ज्यान मुद्दामा दोषी ठहरिनु राजनीतिमा अपराधिक पृष्ठभूमिका व्यक्तिहरु रहेको पछिल्ला उदाहरण मात्र हुन् । 

गत वर्ष मात्र रोज राणा भनेर चिनिने सरोज थापा लुम्बिनी प्रदेशका मन्त्री थिए । उनको पृष्ठभूमि पनि विवादित नै हो । चर्को विरोधपछि केही दिन अघि बादबाह कुर्मीले लुम्बिनी प्रदेशको मन्त्री पदबाट राजीनामा दिए । कुर्मीलाई अपहरणपछि हत्याको आरोप छ । निर्मलादेवी कुर्मीको अपहरणपछि हत्या गरेको आरोप लागेका बादशाहमाथि कारबाहीको मागमा आन्दोलन चलिरहेकै छ । बादशाह लुम्बिनी प्रदेशको सांसद बन्नुअघि नै कारबाहीको माग राखेर रुबी खान र उनका साथीहरुले आन्दोलन थालेका थिए । 

तर सार्वजनिक रुपमै आलोचना खेपिरहेका, मुद्दा खेपिरहेका व्यक्तिहरुलाई राजनीतिक नेतृत्वले अवसर दिदै आएका छन् । सत्ता र पदको स्वार्थमै अपराधिक पृष्ठभूमिका व्यक्तिहरुले राजनीतिक अवसर पाइरहेका छन् । यसका पछाडि जसरी पनि चुनाव जित्ने नेताहरुको बाध्यता अर्को कारण देखिन्छ । तर अपराधिक पृष्ठभूमिका व्यक्तिहरुलाई राजनीतिक अवसर दिइदाको सन्देश भने राम्रो गइरहेको छैन । त्यसैपनि ‘आई हेट पोलिटिक्स’ भन्ने युवाहरुमा पुराना नेताहरुप्रति राम्रो धारणा छैन । अझ सार्वजनिक रुपमै प्रश्न खेपिरहेका पात्रहरुलाई राजकीय लाभको अवसर दिइदा राजनीतिक बितृष्णा थप बढेर जाने प्रष्ट छ । र यस्तो कोर्स सच्चिनुको विकल्प छैन । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise