२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

धनराजसँग सोधपुछ

ADV
जानकी पाठक
२०८१ कार्तिक २९ गते ०६:५०
धनराजसँग सोधपुछ

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ अनुसन्धानमा तानिएका छन् । ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार गुरुङसँग सोधपुछ नै गरेको छ ।

गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर सिआइबीले मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म सोधपुछ गरेको हो । सीआईबीका अनुसार गुरुङसँग घटना विवरण कागज गराइएको छ । प्रहरीले अनुसन्धानका लागि चाहिने विषयमा गुरुङसँग बयान लिइएको हो ।

धनराजकी श्रीमती ज्योति गुरुङ पदाधिकारी रहेको मितेरी सहकारीमा १४ करोड बचत रकम अपचलन भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । यही निष्कर्षका आधारमा संसदीय छानबिन समितिले गुरुङलाई छानबिनको दायरामा ल्याउन निर्देशन दिएको थियो । 

संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गर्ने कार्यमा संलग्न रहेको आशंकामा रास्वपा सभापति लामिछाने, कांग्रेस उपसभापति गुरुङसहित ५५ जनामाथि अनुसन्धान र कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । समितिले सय दिन लगाएर गरेको अध्ययन अनुसन्धानको प्रतिवेदन सभापति सूर्य थापाले संसदमा पेश गरेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिएका थिए । प्रतिवेदन कार्यान्वयनमा जाँदा लामिछाने मात्रै पक्राउ परेको भनेर विपक्षी दलहरूले समेत प्रश्न उठाउँदै आएका छन् । लामिछाने भने गत कात्तिक २ गते नै पक्राउ परेका थिए । उनी प्रहरी हिरासतमै छन् । लामिछाने गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका बेला रकम अपचलन भएको आरोप छ ।

छानबिन समितिले विभिन्न सहकारीबारी गोरखा मिडिया नेटवर्कमा अवैधानिक रुपमा रकम प्रवाह भएको ठहर गरेको छ । संसदीय छानबिन समितिको प्रतिवेदनकै आधारमा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा अनुसन्धानका लागि पक्राउ गरेपछि गुरुङलाई अनुसन्धानको दायरामा नल्याएको भनेर सरकारको आलोचना हो । यही बेला गुरुङसँग प्रहरीले सोधपुछ गरेको हो । 

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङ सहित ५ जना विरुद्ध जाहेरी परेको छ । ज्योति गुरुङ धनराजकी पूर्वश्रीमती हुन् । उनीहरूको बिच २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको थियो । प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनमा श्रीमती संलग्न देखिएपछि सम्बन्ध विच्छेद गरेको बारे सोधपुछ गरेको हो । अनुसन्धान अधिकृतहरूका अनुसार सोधपुछका क्रममा गुरुङले मितेरी सहकारीले आफ्नो घर र परिवार क्षतविक्षत बनाएको बताएका छन् ।

धनराजले मितेरीबाट लिएको ऋण घर बेचेर तिरेको बताएका हुन् । उनकी श्रीमती गुरुङ र अर्का आरोपी ज्योति भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । यसअघि गृहमन्त्री रमेश लेखकले यही कात्तिक १४ गते पोखरामा धनराजबारे अनुसन्धान हुने बताएका थिए । ‘धनराजजीमाथि पनि अनुसन्धान र छानबिन हुनेछ । यदि तथ्य र प्रमाणले उहाँले गैरकानूनी काम गरेको देखाए उहाँमाथि कारबाही गरिनेछ,’ गृहमन्त्रीले भनेका थिए । गृहमन्त्रीले यस्तो दाबी गरे पनि प्रहरीले गुरुङविरुद्ध नै जाहेरी दर्ता गरेको छैन । धनराजमाथि छानबिन प्रक्रिया अगाडि नबढाउन जाहेरी दर्ता नगरेको र बुधबार सोधपुछ गरेर साक्षीका रुपमा छुट दिने प्रयास गरेको हुन सक्ने कतिपयको आशंका छ ।

ADVADV

सम्बन्धित खबर

Advertise