२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

अर्घाखाँचीमा पानी नपरेपछि जनजीवन प्रभावित, सुक्न थाले मकैका बिरुवा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार ४ गते २०:५६
अर्घाखाँचीमा पानी नपरेपछि जनजीवन प्रभावित, सुक्न थाले मकैका बिरुवा

अर्घाखाँची : जेठ महिनादेखि नपरेको आकासे पानी असारको पहिलो हप्तासम्म पनि नपर्दा अर्घाखाँची लगायत पहाडि जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।

यहाँका किसानहरुले पानी नपरेपछि ढिला गरी मकै छरेका थिए । अहिले असारको पहिलो हप्तासम्म पनि पानी परेको छैन । केही किसानहरु दोस्रोपटक मकै खन्ने बेलामा मकै छर्न समेत पाएका छैनन् । गाउँमा किसानका बारीमा जेनतेन उम्रिएका र हुर्केका मकै बोडि, सिमीका बिरुवा बारीमै सुकेपछि मकै खेतीमा भरपर्ने किसानहरु चिन्तित देखिएका छन् । 

अर्घाखाँची लगायत पहाडि जिल्लामा वैशाखको अन्तिम साता र जेठको पहिलो साता छरेको मकै बोडि, सिमीमा गवारो कीरा लाग्ने समस्या देखिएको कृषि विज्ञहरुको भनाइ छ । 

मकै बारीमा किराले काटेर आधा बारी नाङ्गो बनाइसकेको छ । पानी पर्दैन, खेति गर्न दुःख मात्रै भएको सन्धिखर्क ३ का कृषक आजद मिया गुनासो गर्छन् ।  

वैशाख अन्तिम जेठ पहिलो साता पहाडि जिल्लामा हल्का पानी परेपनि अहिले लामो समय खेतीका लागि पानी  पर्याप्त आकाशबाट नपर्दा धेरैजसो खेतवारी किसानले बाँझै राख्न बाध्य भएको किसान मियाको भनाइ छ । 

‘मकै बोटले धान फल्ने बेलासम्म गाउँका पाखोबारी सबै ठाउँमा मकै छर्न सकेका छैनौं,’ भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका कृषक सन्तोष भुसालले  भने,‘जेनतेन बारीमा लगायका मकै बोडि, सिमीका बोट कीराले आधा खाइसक्यो अब के आश गर्नु ?’

अर्घाखाँची जिल्लाको १५ हजार ८ सय चालिस हेक्टर क्षेत्रफलमा यस वर्ष मकै उत्पादन हुन्छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका कृषि अधिकृत टिकाराम न्यौपानेका अनुसार  गत वर्ष भन्दा झण्डै ७ सय  हेक्टर कम बारीमा मकै छरिएको छ । यस वर्ष ४४ हजर ३ सय मेट्रिक टन मकै यस वर्ष उत्पादन हुने अनुमान गरिएको छ  ।  

अर्घाखाँची जिल्लामा सामान्यतया वर्षमा ५५  हजार ५ सय मेट्रिक टन खाद्यान्न आवश्यक हुने कृषि ज्ञानकेन्द्रको रेकर्डमा उल्लेख छ । 

पहाडी जिल्लामा चैतदेखि जेठ दोस्रो सातासम्म  जतिबेला पनि मकै छर्न उपयुक्त मानिन्छ । अर्घाखाँचीका कृषकले यो समयमा लगाएको बालीले राम्रो उत्पादन दिने विश्वास गर्छन् । 

कृषि ज्ञान केन्द्रका अनुसार अहिले पनि सोचे अनुसार  मकै खेती हुन सकेको छैन । अन्य बर्खे बालीभन्दा मकैले सुक्खा सहन सक्ने भएपनि यस वर्ष मकै बारीमा सुकेका छन् । खडेरीले बोट ओइलाए पनि वर्षा शुरु भए उत्पादनमा असर नपर्ने प्राविधिक टिकाराम न्यौपाने बताउँछन् ।

खडेरीले मकैको जरामा कीरा लागेर बोट सुक्न थालेको कृषकहरूको गुनासो छ  । जेठ पहिलो साता छरेका मकैमा यो समस्या बढी देखिएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाको मौवाबारी,  बठेनी,  खयर भट्टी,  दुम्सी, गोल्डुङ लगायतका ठाउँमा किराको  प्रकोप बढेको गुनासो आएको प्राविधिकहरु बताउँछन् ।

अर्घाखाँचीमा धेरै ठाउँमा कुलोको पानी लाग्ने सिँचाइ   सुविधा छैन । बारीका लागि यो सुविधा  नहुँदा र पानी नपर्दा धानको बेर्ना र मकैका बोटमा कटुवा रोग देखिएको कृषकले रेसम राज बन्जाडेले बताए । 

खोला र नदीमा समेत पानी घटेपछि सिँचाइ सुविधा भएको खेतमा समेत रोपाइँ गर्न सकिने अवस्था नभएको कृषक मोहन बन्जाडेले बताए । 

जेठ पहिलो साताबाट शुरु हुने रोपाइँ अझै भएको छैन भने खेतमा पाइप लगाएर धानको बीउ जोगाउन किसान बाध्य छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise