काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ ।
निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसदको कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् ।
थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रुपमा उल्लेख गरेको बताए ।
‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनि लिखित रुपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौं,’ उनले भने ।
प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पद स्वतः सकिनेसमेत बताएका छन् ।
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउमा परिणत भएको छ ।
मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेसँगै पाँचदलीय गठबन्धन सरकार कामचलाउ भएको हो ।
निर्वाचनको मिति घोषणासँगै सरकार चुनावी सरकारमा परिणत भएको कानूनविदहरुले बताएका हुन् ।
कामचलाउमा परिणत भएपछि सरकारले नियमित दैनिक प्रशासनिक कामबाहेक दीर्घकालीन असर पर्ने नीति–कार्यक्रम, बजेट र योजना ल्याउन पाउँदैन ।
चुनावी सरकारले कर्मचारीहरुको नियमित सरुवा–बढुवा, मन्त्रीहरुको नियुक्ति, चुनाव प्रभावित पर्ने गरी बजेट ल्याउन, सन्धि–सम्झौतामा हस्ताक्षर गर्ने, राजनीतिक नियुक्ति गर्नेलगायतका काम समेत गर्न पाउँदैन ।
अत्यावश्यक किसिमका निर्णय भने निर्वाचन आयोगको स्वीकृतिमा सरकारले गर्नसक्ने विज्ञहरुको भनाइ छ ।
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)बीच भेटवार्ता भएको छ।
उनीहरुका बीचमा बुधबार भेटवार्ता भएको भएपनि महामन्त्री थापाले बिहीबार अपरान्ह मात्रै भेटवार्ताका क्रममा कैद गरिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
तस्बिरसँगै उनले भेटवार्तामा काठमाडौंको फोहोर–मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भएको जानकारी दिएका छन् ।
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो।
राजनीतिक विश्लेषक सुवेदीले आफूलाई सल्लाहकारमा नियुक्त गरेको पुष्टि गरेका छन्। धनकुटा पुर्ख्यौली घर भएका सुवेदी विद्यार्थीकालमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए।
काठमाडौंः एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु स्वाभाविक भएको बताएका छन् ।
बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसॅग अन्तरक्रियामा उनले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै सो अभिव्यक्ति दिएका हुन् । ‘निर्वाचन घोषणा स्वाभाविक हो । यसमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ ओलीले भने ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।
काठमाडौं : सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो ।
सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : सत्ता साझेदार दलहरुबीच आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले चुनावको मितिमा सहमति गरेको हो । शीर्ष नेताहरुबीच जुटेको सहमति अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने एक नेताले बताए ।
‘सम्भवतः बिहीबार वा शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्छ । त्यही अनुसार चुनाव हुन्छ’, ती नेताले भने । निर्वाचन आयोगले मंसिर २ गते चुनावको मिति घोषणा गर्न सुझाव दिएको थियो । सुझाव बमोजिम चुनावको मिति घोषणा गरे तयारीमा समस्या नहुने आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिएको थियो । निर्वाचन आयोगको सुझावका आधारमा सरकारले चुनावको मिति घोषणा गर्ने प्रचलन छ ।
त्यसअनुसार, आयोगले पनि तयारी अगाडि बढाउने छ । आयोगले तयारीमा समस्या नहुने जनाएको छ । तर सरकार र सत्तारुढमै भने चुनावबारे अन्योल थियो । सत्तारुढ दलका नेताहरुले मंसिरमा नभएर माघ वा फागुनमा चुनाव हुने बताइरहेका थिए । सरकारले नागरिकता ऐन सम्बन्धी अध्यादेश ल्याएकाले पनि चुनावको मिति प्रभावित हुने अनुमान गरिएको थियो ।
किनकि जन्मसिद्धका छोराछोरीले वंशजको आधारमा नागरिकता पाउने र आंगिक नागरिकता पाउने व्यवस्थामा खुकुलो प्रावधान राखेर विधेयक पारित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको विधेयक राष्ट्रपति कार्यालय पठाइएको थियो । विधेयक अनुमोदन भएपछि नागरिकता वितरण गरिने पनि सत्तारुढ नेताहरुले बताउने गरेको थियो ।
तर ०७४ मंसिर १० र २१ गते दुई चरणमा चुनाव भएकाले यसपटक पनि मंसिरमै चुनाव गरिनुपर्ने दबाव सरकारसँग थियो । त्यसबेला दुई चरणमा मतदान भएको थियो भने गणना एकैपटक भएको थियो । यसपटक भने एकैचरणमा चुनाव गराउनुपर्ने दबाव छ । अघिल्लोपटक स्थानीय चुनाव पनि तीन चरणमा भएको थियो । गएको ३० वैशाखमा एकैपटक स्थानीय चुनाव भएको छ ।
काठमाडौं : सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने समझदारी बनेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताबीचको बैठकमा मंसिर चार गते निर्वाचन गर्ने सहमति भएको हो ।
बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी मंसिर ४ गते निर्वाचन गर्न प्रस्ताव गरेका थिए भने त्यसमा अन्य दलका नेताहरुले सहमति जनाएको बताइएको छ ।
बैठकमा निर्वाचनका विषयमा छलफल भएको र गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने सहमति भएको कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै गठबन्धनमा चूनावको मिति घोषणा गरेपछि संसदको अधिवेशन के गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।
काठमाडौंः सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बैठक शुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति निर्धारणका विषयमा छलफल भइरहेको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी गरेको छन् ।
काठमाडौंः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको छ ।
सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्नेमा जोड दिइन् ।
उनले नेपाल–भारतबीचमा भइरहेको ऊर्जा व्यापारलाई थप विस्तार गर्दै लैजानका लागि आपसी सहकार्य सक्रिय बनाउनुपर्ने बताए।
नेपाल र भारतबीच सम्झौता भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तुल्याउनका लागि दुवै पक्षले पहल गरेर नतिजा दिन ढिला गर्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा आयोजना निर्माणका लागि द्विपक्षीय तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिए।
सो अवसरमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले आफूले भारतका जलविद्युत् तथा सिँचाइसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग निरन्तर छलफल गरिरहेको जानकारी गराउँदै आगामी दिनमा दुई देशबीच सहमति भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तवरले अगाडि बढाउन पहल गर्ने विश्वास दिलाए ।
उनले दुई देशबीच हुँदै आएको ऊर्जा व्यापारलाई थप विस्तार गरी आपसी लाभ लिने विषयमा भारत तयार रहेको बताए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies