बझाङ : मंसिर १६ गते हुने उपनिर्वाचनका लागि बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्ष पदमा तीन दलबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको उम्मेदवारको विवरणअनुसार वडाध्यक्ष पदमा नेकपा एमालेबाट लखिचन्द्र बोहरा, नेपाली कांग्रेसबाट धिरेन्द्र पुजारा र नेकपा माओवादी केन्द्रका पुष्कर बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेको वडा कमिटीबाट दुई जनाको नाम सिफारिस भएर जिल्लामा गएको थियो । वडाबाट बोहरा र दुर्गानाथ पुजाराको नाम जिल्लामा सिफारिस भएको थियो । तर दुई जनाबीच सहमति गराएर बोहराको उम्मेदवारी दर्ता गराइएको नेकपा एमाले जिल्ला कमिटी बझाङका सचिव आनन्दलाल विस्वकर्माले बताए । यसैगरी कांग्रेसको वडा समितिबाट पुजाराको नाम एकल सिफारिस भएर जिल्लामा गएको थियो ।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा निर्वाचित सर्जन बोहराको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । बझाङको यही वडामा मात्र निर्वाचन हुँदैछ ।
वडाध्यक्षको निर्वाचनमा मुख्यतः दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको मतपरिणामले देखाउँछ । उपनिर्वाचनले बझाङमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सर्जन बोहराले ६२९ मत पाएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।