२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

क्यान्सर पीडित गंगालाई कतारबाट थप आर्थिक सहयोग

ADV
तिलु शर्मा पौडेल
२०८१ मंसिर २ गते २१:०३
क्यान्सर पीडित गंगालाई कतारबाट थप आर्थिक सहयोग

दोहा, कतार : पाठेघरको क्यान्सर रोगबाट ग्रसित पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङकी ५५ वर्षीया गंगा दमाईको उपचारका लागि कतारबाट थप सहयोग प्राप्त भएको छ ।  कतारमा रहेका पर्वतेहरूको साझा सामाजिक संस्था पर्वत समाज कतार मातहत रहेका पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोष र पर्वत जलजला समाज इकाइ कतारले दश–दश हजारका दरले २० हजार रुपैयाँ बिरामी गंगालाई सहयोग गरेका हुन् ।

शनिबार जलजला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष एकिन्द्र खत्री र वडा नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीसहितका अन्य व्यक्तिहरू बिरामीको घरमा पुगेर उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरेका हुन् ।

पर्वत समाज कतारका अध्यक्ष रघुनाथ शर्माले प्रवासबाट बिरामीको उपचारमा सघाउन पाउँदा आफूहरूलाई खुसी लागेको बताए । उनले कोषका अध्यक्ष नन्दलाल बिक (अजय) र इकाइका अध्यक्ष देभाराज कार्कीले मानवीय सेवाका लागि खेलेको भूमिकाको प्रशंसा गरे । आफूलाई सहयोग गर्ने सबैलाई बिरामी गंगाले आभार व्यक्त गरिन् भने वडाध्यक्षद्वयले कतारमा रहेका पर्वतेहरूको मानवीय कार्यको प्रशंसा गर्दै बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

त्यस्तै कतारमा रहेको नेपाली महिला समाज कतारले १५ हजार रुपैयाँ, श्री सद्भाव युवा समाज कतारले १७ हजार ५ सय ४० रुपैयाँ र संघीय लिम्बूवान सामाजिक मञ्च (सलिसाम) कतारले ३ हजार रुपैयाँ सहयोग गरिसकेको छ । कतारमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका मध्यान्हकर्मीको रोहबरमा समेत गंगाको उपचारका लागि आर्थिक सहयोग संकलन भइरहेको छ ।

हाल बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेकी दमाईको उपचारमा ठूलो रकम लाग्ने र आर्थिक अवस्था कमजोर भएका कारण परिवारले सहयोगको अपिल गरेको थियो । बिरामीलाई सहयोग गर्न चाहनेले बिरामीको छोरी अनिता दर्जीको एनएमबि बैंकको खाता नम्बर १२१०२००९४१७००१२ वा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३५००१००००००४१२०३ मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise