२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

कृष्णनगरका विद्यार्थीलाई घरमै उच्च शिक्षा प्राप्त गर्ने अवसर

ADV
शहबाज खान
२०८१ मंसिर २ गते २२:०७
कृष्णनगरका विद्यार्थीलाई घरमै उच्च शिक्षा प्राप्त गर्ने अवसर

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उच्च शिक्षाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बहादुरगन्जस्थित राघवेन्द्र गौरव बहुमुखी क्याम्पसले औपचारिक रूपमा अध्यापन कार्य सुरु गरेको छ । क्याम्पस स्थापना भएसँगै यस क्षेत्रका विद्यार्थीहरूले अब घरमै उच्च शिक्षा हासिल गर्ने अवसर प्राप्त गरेका छन् ।

क्याम्स उद्घाटन समारोहमा नगरप्रमुख तथा क्याम्पस संरक्षक रजत प्रताप शाहले क्याम्पसले क्षेत्रीय विद्यार्थीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता हटाएको बताए । उनले क्याम्पसको स्थापना सामाजिक र आर्थिक दृष्टिले पनि यस क्षेत्रका विद्यार्थीहरूका लागि लाभदायक हुने उल्लेख गरे ।

क्याम्पसका अध्यक्ष वैभव प्रताप शाहले क्याम्पस स्थापना स्थानीयको लामो चाहनापछि पूरा भएको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पसलाई समावेशी बनाउने प्रतिबद्धता जनाए ।

आगामी दिनमा विविध संकाय र कार्यक्रम थप गर्दै शिक्षाको दायरालाई विस्तार गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

क्याम्पसका प्रमुख मानबहादुर दर्जीले क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयसँगको सम्बन्धनमा शिक्षा शास्त्र संकायअन्तर्गत नेपाली, अंग्रेजी र स्वास्थ्य तथा शारीरिक शिक्षा विषयहरूमा अध्यापन सुरु गरेको जानकारी दिए । उनका अनुसार हालसम्म क्याम्पसमा ४५ जना विद्यार्थी भर्ना भइसकेका छन् ।

स्थानीय जनताको लामो समयदेखिको चाहनालाई सम्बोधन गर्दै स्थापना गरिएको यो क्याम्पसले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई उच्च शिक्षाको सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ । 

नगरपालिकाको सक्रियता र स्थानीय जनताको सहयोगले क्याम्पस सञ्चालन सम्भव भएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा सहभागीहरूले क्याम्पसले यस क्षेत्रको शैक्षिकस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

क्याम्पसको उद्घाटनसँगै कृष्णनगर क्षेत्रका नागरिकहरूमा उत्साह छाएको छ । यसले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन र शिक्षामा आउने चुनौती समाधान गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise