काठमाडौं : ‘नेपालको राजनीतिको चुरो जति बुझ्यो उति बुझ्न नसकिने हुँदै छ । संघ एवं प्रदेशमा स्थिर सरकार दुर्लभ भइरहेछन् । यो एक दुई पटकको कुरा नभएर दीर्घकालीन प्रवृत्तिको रूपमा देखिएको छ । शासकीय पूर्वाधार शून्य राष्ट्र हुने खतरा बढ्दै छ’, गएको साउनमा पूर्वसभामुख दमननाथ ढुंगानाले बोलेका शब्द हुन् । उनको गहन र गम्भीर यी शब्दहरू अब सुन्न र पढ्न पाइने छैन ।
ढुंगानाको नश्वर शरीर अब यो धर्तीमा रहेन । उनले आइतबार ७८ वर्षको उमेरमा देह त्याग गरेका छन् । पछिल्लो समय अनेकौं स्वास्थ्य समस्याले ग्रसित उनको उपचारकै क्रममा काठमाडौंको फ्रन्ट लाइन अस्पतालमा आइतबार निधन भयो ।
गान्धीवादी तथा सन्त नेता कृष्णप्रसाद भट्टराईका अनुयायी ढुंगाना नेपालका दोस्रो सभामुख तथा २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो सभामुख थिए । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख थिए । उनले तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उल्लेखनीय भूमिका पनि निर्वाह गरेका थिए ।
२०४८ सालमा काठमाडौंबाट निर्वाचन जितेका उनलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्री बनाउन गरेको प्रस्ताव अस्वीकार गरेका थिए । इमान्दारी र निष्ठाको राजनीति गरेका उनी अधिवक्ता र मानवअधिकारकर्मीका रूपमा उनी परिचित थिए ।
सभामुखका रूपमा उनी सफल मानिन्छन् । सभामुख रहँदा तटस्थताको राम्रो प्रभाव छाड्न उनी सफल भए । त्यतिबेला आफूबाहेक दोस्रो व्यक्ति सभामुख भएको भए वामपन्थीहरूप्रति आफूजतिको उदार र सहनशील हुन नसक्ने उनको तर्क हुन्थ्यो ।
तत्कालीन समयमा उग्र वामपन्थीका नेतृत्व गरेको एमाले, जनमोर्चा जस्ता दलहरूलाई संसदीय व्यवस्थाप्रति आस्था जगाउन सभामुखको रूपमा उनको कार्यकाल सफल मानिन्छ ।
तर, कांग्रेसभित्रैको शक्ति संघर्ष, पेलाइबाट उनी पनि अछूतो रहन भने सकेनन् । कृष्णप्रसाद भट्टराई अर्थात् किशुनजी जस्तै उनी पनि दिक्क भएर कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिएर नागरिक अगुवा बने ।
संसदीय प्रणालीमा सभामुखका रूपमा एउटा मानक स्थापित गरे । त्यसअघि उनी कानुन व्यवसायमा सक्रिय थिए । पंचायतविरुद्धको आन्दोलन, शिक्षण र पत्रकारितामा पनि उत्तिकै क्रियाशील रहे ।
२०१७ सालमा ‘कू’ नभएको भए आफू राजनीतिमा नआउने उनी भन्थे । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि त्यसविरुद्ध उनी प्रजातान्त्रिक आन्दोलनमा होमिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा ढुंगाना काठमाडौँ– २ मा एमालेकी विद्या भण्डारीसँग पराजित भए । कांग्रेसको राजनीतिमा सक्रिय भूमिकामा नरहे पनि कांग्रेसले उनलाई २०७४ सालमा भक्तपुर– २ बाट प्रतिनिधिसभा उम्मेदवार बनायो । तर, एमालेका महेश बस्नेतसँग पराजित भए ।
सरकार र तत्कालीन द्वन्द्वरत माओवादीबीचको पहिलो वार्तामा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन ढुंगानाले समन्वयकारी भूमिकामा आफूलाई खरो उतारेका थिए । २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा पनि उनी नागरिक अगुवाका रूपमा अग्रमोर्चामा थिए ।
उनी विद्यार्थीकालदेखि नै विद्रोही थिए । २०१७ सालपछि स्वतन्त्र विद्यार्थी युनियन स्थापना गर्ने पुराना विद्यार्थी नेतामध्ये उनी पनि एक थिए । कांग्रेसको विद्यार्थी संगठन नेविसंघ स्थापनापछि उनले वकालत सुरु गरे । प्रजातन्त्र स्थापनाको आन्दोलनमा विद्यार्थी फोरमबाट २०१७ सालदेखि नै सक्रिय रहे ।
नेपाल बार एसोसिएसनको २ पटक सचिव भए । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षसमेत भए । तर, ती राजनीतिक नभएर वकालत गर्ने व्यावसायिक प्लेटफर्म थिए ।
उनी जहाँ भए पनि राज्यसत्ताका विरुद्ध तथा बहुदल र लोकतन्त्रको पक्षमा अनवरत वकालत गरिरहे । कांग्रेसमा रहँदा अहोरात्र सक्रिय भए पनि उनी कहिल्यै कुनै पनि पदमा भने रहेनन् । सभामुख भएको समयबाहेक राज्यको कुनै सुविधासमेत नलिने व्यक्ति पनि उनी थिए ।
उनी भन्थे, ‘आफ्नो जीवनकालमा जति लोकतन्त्रको पक्षमा काम गरेँ, त्यति पार्टीको लागि गरिनँ ।’
आउने दिनमा भावी पुस्ताले प्रजातन्त्रका लागि लड्न नपरोस् भन्ने उनको कामना थियो । नेपाली युवाले जहिले पनि अधिकार र प्रजातन्त्रका लागि लड्नुपरिरहेको र उनीहरूले मर्यादित जीवन बिताउन नपाएकामा नी चिन्तित हुन्थे । ‘त्यो पाऊन् भन्ने मेरो सपना हो । स्थिर राजनीतिको चाहना हो’, उनी भन्थे ।
‘अहिलेको प्रजातन्त्र स्थिर भइरहेको छैन । २००७ सालदेखि लड्दै नयाँ संविधान बनाउँदै, बनाएको खारेज गर्दै फेरि नयाँ बनाउँदै आएका छौं’, देशको तरल राजनीतिक अवस्थालाई संकेत गर्दै उनी सुनाउँथे ।
‘संविधानसभाले बनाएको संविधानमा पनि अनेक प्रश्न, अस्वीकृति भइरहेका छन् । त्यसले पनि देशमा स्थिरता दिएन । पार्टीहरू सत्तालिप्सामा व्यस्त भए । जसले परिवर्तनका लागि लडेका थिए, उनीहरूले सदुपयोग गर्न जानेनन्’, निराश भावमा उनको विश्लेषण हुन्थ्यो ।
आफ्नो सक्रिय समयमा निकै चर्चा र चासोमा रहेका ढुंगाना जीवनको अन्तिम समयमा राजनीतिको पर्दाबाहिरै रहेर चुपचाप प्रस्थान भएका छन् ।
२०२८ सालमा प्रेम विवाह गरेका ढुंगानाका श्रीमती, २ छोरा र १ छोरी छन् । उनको अन्तिम संस्कार सोमबार बिहान गरिने छ ।
ढुंगानाको योगदान स्मरणीय : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले ढुंगानाको निधनले आफू मर्माहत भएको बताएका छन् ।
ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सधैँ स्मरणीय हुने बताउँदै राष्ट्रपति पौडेलले ढुंगानाप्रति श्रद्धाञ्जलि दिएका छन् । नेपालको संवैधानिक र संसदीय इतिहासमा ढुंगानाको योगदान विशिष्ट खालको रहेको स्मरणसमेत राष्ट्रपतिले गरेका छन् ।
ढुंगानाको योगदान सम्झिन लायक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ढुंगानाको निधनबाट दुखी बनाएको बताएका छन् । ‘नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा ढुंगानाको योगदान सम्झिन लायक छ’, प्रधानमन्त्रीले भनेका छन् ।
ढुंगानाको योगदान महत्त्वपूर्ण : देउवा
कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको निधनमा दुख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘ढुंगानाको निधनको खबरले स्तब्ध भएको छु । नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा उहाँको योगदान महत्त्वपूर्ण थियो ।’
नेपालीले सदैव सम्झिरहने छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपाल र नेपाली जनताले देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा उनले पुर्याएको योगदानलाई सदैव सम्झिरहने छन्’, उनले भनेका छन् ।