२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

सुन्दरताको उपहार बडिमालिका, सुदूरपश्चिमकै धार्मिक तथा पर्यटकीय स्थल

shivam cement
दिपकराज भट्ट
२०८२ साउन ३० गते २०:३३
सुन्दरताको उपहार बडिमालिका, सुदूरपश्चिमकै धार्मिक तथा पर्यटकीय स्थल

डडेल्धुरा : सुदूरपश्चिमको नौ जिल्ला रहेको बडिमालिका धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रका रुपमा रहेको छ । 

राज्यको जति पुछारमा भौगोलिक रूपमा सुदूरपश्चिम रहेको छ, त्यति नै यहाँका पर्यटकिय र धार्मिक क्षेत्रहरू पनि पछाडि रहेका छन् ।

समुन्द्री सतहबाट १४,६०० फिट उचाइमा रहेको बडिमालिका मन्दिर सुन्दर र शान्त रहेको छ । यसलाई मानिसहरूले ‘भू–स्वर्ग’ पनि भन्ने गरेका छन् ।

बडिमालिका मन्दिर सुदूरपश्चिमको विकट जिल्लामा पर्ने बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रत्येक वर्ष श्रावण चतुर्दशीको दिन विशेष पूजा गरिन्छ । पूजा गर्ने क्रममा दुई जना पुजारी रहने परम्परा छ, जसमा एक जना बाजुरा जिल्लाबाट र अर्को कालिकोट जिल्लाबाट मुख्य पुजारी हुन्छन् । 

मन्दिर क्षेत्र वरपर अग्ला डाडाँ, पाटन, सुसेली खेल्दै गरेका खोलाहरू र हिमालका दृश्यहरू देख्न सकिन्छ । बडिमालिकाको सौन्दर्य भनेको विशाल फाँटहरू (पाटनहरू) हुन् । 

अग्लो चुचुरोमा रहेको बडिमालिका मन्दिर वरिपरि विभिन्न प्रकारका सुन्दर फूलहरूले सजिएका फाँटहरू र बाइसै पाटनमा चरिरहेका भेडा, बाख्रा, भैंसी जस्ता जनावरहरूले यहाँको शोभा अझ बढाएको देखिन्छ । यसको थप प्रचार–प्रसार गरी नेपालको पर्यटकीय स्थलको रूपमा चिनाउन आवश्यक देखिन्छ ।

बडिमालिकाको इतिहास

पौराणिक कथा अनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतिदेवीलाई बोलाएनन् ।

सतिदेवी यज्ञस्थल पुगेकी बेला आफ्ना पति महादेवलाई नबोलाएको कारण सोधे । दक्ष प्रजापतिले महादेवलाई भाङ, धतुरो सेवन गर्ने, मसानमा बस्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाघको छालाको पहिरन लगाउने भएकाले यो यज्ञमा शोभा नहुने भन्दै बोलाएनन् । 

अपमान सहन नसकी सतिदेवीले यज्ञकुण्डमा हाम फालेर प्राण त्यागिन् । त्यसपछि महादेव रिसाएर शिबगणलाई पठाएर दक्षको यज्ञ तहस–नहस पार्न लगाए । महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरीर बोकेर विश्व घुम्दा भगवान विष्णुले चक्र प्रहार गरी सतिदेवीको शरीर कुहाए । यसरी शरीरका विभिन्न अंगहरू पतन भएपछि ती ठाउँहरूमा शक्तिपिठहरू स्थापना भए । बायाँ कुम मल्लगिरिमा पतन हुँदा यस स्थानलाई ‘मालिका’ भनिन थालियो र यहाँ बडिमालिका मन्दिर स्थापना भयो । 

जनश्रुती अनुसार डोल्पा जिल्लाको कोटगढी गाउँमा रहेको त्रीपुरा सुन्दरी भगवतीसँग सम्बन्धित कथा छ । वि.स. १४४१ सम्म कोटगढीको उच्च टाकुरामा एउटा साधारण ढुंगाको ओखल थियो । गाउँबासी त्यहाँ धान कुट्न जाँदा जति धान कुट्थे, त्यत्तिकै चामल प्राप्त हुन्थ्यो । स्थानीय बासिन्दाहरूले यस रहस्य पत्ता लगाउन कुमाइ बिष्टले ओखल खन्न थाले । एक दिन बिहान घिउको घडा भेटेपछि ओखलमा बसेकी ९ वटा भगवतीका मूर्तिहरू अलग भइ नौ वटा पुतलीको रूपमा उडे । जेठी बहिनी बाजुरा जिल्लाको बडिमालिकामा बसिन्, अर्की बहिनी जुम्लाको हाटसिंजा गाउँमा, अर्की जाजरकोटको तल्लुमा, अर्की अर्घाखाँचीमा, अर्को सल्यानमा, र बाँकी तीन बहिनी बाला, त्रिपुरा, सुन्दरी डोल्पामा रहे । यसरी बडिमालिकाको शक्ति प्रकट भयो ।

बाजुरा सदरमुकाम मार्तडिबाट बडिमालिका पुग्न करिब ३ दिन (२८ घण्टा) लाग्छ । पहिलो दिन मार्तडिबाट सोता पाटन, करिब १२ घण्टा उकालो बाटोबाट जान सकिन्छ  । यस यात्रामा पुराना शैलीका गाउँघर हेर्न सकिन्छ ।

दोस्रो दिन सोता पाटनबाट त्रिवेणी पाटन, करिब ८–९ घण्टाको हिँडाइ गर्नुपर्ने हुन्छ । यस यात्रामा प्राकृतिक सौन्दर्यले थकान कम गराउँछ ।

तेस्रो दिन त्रिवेणी पाटनबाट बडिमालिका मन्दिर, करिब ८ घण्टा हिँड्नुपर्ने हुन्छ । यस यात्रामा अग्ला डाडाँ, फाँटहरू र हिमालका दृश्यहरूले यात्रालाई अविस्मरणीय बनाउँछ । बडिमालिका धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले सुदूरपश्चिमको महत्वपूर्ण स्थल हो । यसको प्रचार–प्रसार गरी राष्ट्रिय पर्यटकीय स्थलको रूपमा चिनाउन आवश्यक छ ।

ADV

सम्बन्धित खबर

Advertise