प्रतिनिधिसभाबाट विनियोजन विधेयक–२०७८ पारित नभएपछि बुधबार देखि सरकारी खर्च रोकिने भएको छ । संसद् भवनबाट बाहिरिदै अर्थमन्त्री जनार्दन शर्माले पेश्की विधेयक नल्याउने बताएपछि सरकारी खर्च रोकिने निश्चित पक्का भएको हो । २७ भदौमा संशोधित बजेट सरकारले ल्याएको थियो । तर प्रमुख विपक्षी दल नेकपा एमालेको लगातार अवरोध भइरहेपछि प्रतिनिधिसभाको अर्को बैठक ४ असोजसम्म स्थगित गरिएको छ । तर ३० भदौभित्र विनियोजन विधेयक पारित भइसक्नुपर्ने थियो । १५ जेठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । उक्त अध्यादेश ३ साउनमा बसेको पुनस्र्थापित प्रतिनिधिसभा बैठकमा पेश गरियो । संसद् शुरु भएको ६० दिनभित्र अध्यादेश अनुमोदन नभए निष्कृय हुने संवैधानिक व्यवस्था छ ।
तर सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक २७ भदौमा पेश गरेको छ । एमालेको अवरोधकै बीच विधेयक पेश भएपछि अर्थमन्त्री शर्माले संशोधित बजेट पेश गरेका थिए । तर एमालेको अवरोध कायमै रह्यो । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेर संसद्मा नाराबाजी गर्दै आएको छ । नाराबाजीकै कारण विनियोजन विधेयक माथि छलफल हुन सक्ने अवस्था छैन । अर्कातिर एमालेको माग बमोजिम राजीनामा दिने मनस्थितिमा सभामुख छैनन् । अतः बजेट संशोधनतिर लाग्ने, तर विनियोजन विधेयक पारित गराउन नसक्ने परिस्थितिका कारण पनि खर्च रोकिन लागेको हो ।
यसको असर र क्षति कति पर्छ भन्ने तथ्य बिस्तारै आउला । तर यो परिस्थिति जवाफदेहिताहीन राजनीतिको परिणाम हो । सत्ताकै लागि असंवैधानिक कदम चाल्न पनि तयार हुने अनि मुलुक र नागरिकप्रति इमान्दारिता प्रकट नगरिनुको हद संसदीय इतिहासमै संभवतः पहिलो पटक आइलागेको छ । सरकारले गरिरहेको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याउँदै आए पनि मुलुकमा आइलागेको खर्च गर्न नमिल्ने यो परिस्थितिले नेतृत्वको नैतिकतामाथि गम्भीर प्रश्न समेत उठेको छ । जसको असर मुलुक, नागरिक र मूल्यमान्यता माथि त पर्छ नै, सँगै अहिलेको नेतृत्व पुस्ताप्रति भने नागरिक दृष्टिकोण असाध्यै नराम्रोगरी बिग्रिनेछ । व्यक्तिका लागि सत्ता जनताको सेवा गर्ने अवसर समेत हो भन्ने हेक्का नराख्दा इतिहासको पानामा खराब नेतृत्वका रुपमा समेत दर्ज हुने उत्तिकै खतरा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies