२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

रौतहटमा महिलाको शंकास्पद मृत्यु, हत्या भएको माइती पक्षको आरोप

shivam cement
कृष्ण तिवारी
२०८२ भदौ १ गते २१:०४
रौतहटमा महिलाको शंकास्पद मृत्यु, हत्या भएको माइती पक्षको आरोप

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका –९ चेतनगर विर्ता बस्ने २४ वर्षीया रोमा कुमारी साहलाई घरपरिवारले नै मारेर फालेको माइती पक्षले आरोप लगाएका छन् । जग्गा विवाद लगायत कारणले घरपरिवारले आफ्ना छोरी रोमालाई मारेर फालेको उनका बुबा चुल्हाइ साहले आरोप लगाए । देवाही गोनाही नगरपालिका–२ घर भएका चुल्हाइ साहले आइतबार आफ्नै गाउँमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका हुन् । 

चन्द्रपुर नगरपालिका–९का जादोलाल साहको छोरा सरोज साहसँग तीन वर्षअघि आफ्नो छोरी रोमा कुमारीको मागी विवाह गरेको पत्रकार सम्मेलनमा बुबा साहले बताए । जग्गाको विषयलाई लिएर घरमा विवाद हुँदा छोरी रोमाको उनका श्रीमान सरोज साह, जेठान मनोज साह, जेठानी रेखा साह, ससुरा लगायत घरका अन्य सदस्यहरू मिलेर ज्यान मारेर गाउँभन्दा पर रहेको नहरीमा फालेको अवस्थामा शव फेला परेको साहले बताए ।

बुबा साहका अनुसार छोरी रोमाको श्रीमान सरोजको जेठो दाइ मनोज साहले घडेरी किनेर आफ्ना व्यक्तिगत नाउँमा बकसपत्र गराएका थिए । घरका सबै सदस्य एक ठाउँमा रहेको र अंश बण्डा नभएको अवस्थामा आफूहरुसँग बेइमानी गर्ने नियतका साथ मनोज साहले गुपचुप ढंगले घडेरी किनेको कुरा रोमा कुमारीले पछि थाहा पाएकी थिइन् । त्यसपछि रोमाले मनोजले किनेको जग्गाबाट आधा हिस्सा आफूले पनि पाउनुपर्ने अडान लिन थालेपछि घरमा विवाद हुन सुरु भएको थियो ।

त्यो भन्दा पहिले रोमामाथि घरका सदस्यहरूले बोक्सीको पनि आरोप लगाएको थियो । मृतक रोमा कुमारीको ९ महिनाका एक छोरा र डेढ वर्षकी छोरी छन् । उनको विवाह भएको तीन मात्र भएको थियो ।

सोही विवादबाट उन्मुक्ति पाउन रोमाका श्रीमान सरोज, जेठान मनोज र जेठानी रेखा साह मिलेर आफ्ना छोरी रोमाको गत साउन १५ गते हत्या गरेर नहरमा फालेको रोमाका बुबा साहले आरोप लगाए ।

उनले भने, ‘नहरीमा डुबेर मरेको भए पेट पानीले फुलेको हुनुपथ्र्यो, तर पेटमा पानी नै नभएकोले घटना शंकास्पद लागेपछि आफूहरुले शव पोस्टमार्टम गर्न भन्यौ ।’

तर शव पोस्टमार्टम गरेपछि घटनाको पोल खुल्ने डरले रोमाका श्रीमान, जेठान, ससुरा लगायतले पोस्टमार्टम गर्न नमानेको उनले सुनाए । उनीहरूले पोस्टमार्टम गर्न नमानेपछि घटना रहस्यमय वा शंकास्पद रहेको भनि झन् बढी शंका लाग्न थालेको उनले बताए । 

उनले अघि भने, ‘त्यति मात्र नभइ घरपरिवारले  पोस्टमार्टम नगरी घटना मिलापत्र गर्न दबाब दिन थाले, त्यसपछि झन् शंका लाग्यो, त्यसपछि हामी पोस्टमार्टम नगरी शव जलाउन नदिने आफूहरु अडान लियौं ।’

उनले भने, ‘त्यसपछि बल प्रहरीले पोस्टमार्टम गर्न तयार भए र पोस्टमार्टम गरियो ।’

घरपरिवारले शव पोस्टमार्टम गर्न नमान्नु, पोस्टमार्टम गर्नुभन्दा अघि मिलापत्र गर्न दबाब दिनु, पेटमा कही कतै पानी नदेखिनु, शरीरको कुनै भागमा निलडाम नदेखिनु जस्ता कारणले आफ्ना छोरीको डुबेर मृत्यु नभइ घरपरिवारले नै मारेर नहरमा फालेको माइती पक्षको आरोप छ । 

घटना शंकास्पद रहेकोले पोस्टमार्टम रिपोर्टको आधारमा छानबिन गरी घटनामा संलग्नलाई कारबाही गर्नुको सट्टा प्रहरीले उनीहरुलाई उल्टै जोगाउन खोजेको मृतक रोमाका बुबा चुल्हाइ साहले आरोप लगाए ।

रोमाका बुबा चुल्हाइ साहले दोषीलाई कारबाही गर्न उनीहरूमाथि इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको एक साता बढी भएपनि प्रहरीले अझै जाहेरी दर्ता गर्न नमानेको बताए । 

छोरीको हत्यारालाई कारबाही गराउनका लागि चुल्हाइ साह प्रहरी कहाँ धाइरहेका छन् तर प्रहरीले उनको कुरा सुन्न मानेका छैनन् । 

प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेपछि पत्रकारको सहारा लिन आफूले पत्रकार सम्मेलन गरेको उनले बताए । 

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले घटनाबारे आफूहरुले वास्तविकता बुझिरहेकोले अहिले मुद्दा दर्ता नगरेको बताए । 

घटनाको वास्तविकता के हो ? भन्नेबारे अहिले बुझ्ने काम भइरहेको र यसबारे पूर्ण अनुसन्धान सकेपछि दोषी देखिएका व्यक्तिहरूमाथी मुद्दा चलाउने डीएसपी कार्कीले बताए ।

ADV

सम्बन्धित खबर

Advertise