काठमाडौंः नियो चाइल्ड केयर सेन्टरले आयोजना गरेको सेन्सरी मेला सम्पन्न भएको छ । अटिजम भएका बालबालिकालाई उपचार गर्नुका साथै उनीहरूको क्षमताअनुसारको अध्यापन गराउने नियोले आइतबार आफ्नै प्राङ्गणमा सेन्सरी मेला सम्पन्न गरेको हो ।
अटिजम भएका बालवालिकाका अभिभावकहरूले कसरी घरमै आफ्ना बालवालिकालाई सेन्सरी क्रियाकलाप गर्न सिकाउने भनि मेलाको आयोजना गरिएको यस सेन्टरका कार्यकारी निर्देशक तथा बाल विशेषज्ञ फिजियोथेरापिष्ट समिद कतिला श्रेष्ठले जानकारी दिए ।
‘मेलामार्फत सेन्सरी गतिविधि बनाउने सामग्री एकदम कम बजेटमा कसरी बनाइन्छ भन्ने सिकाइयो । अझै पछिल्लो समय अटिजमको समस्या भएकाहरूको संख्या बढिरहेको छ तर यससँग सम्बन्धित काम गर्नेहरूको संख्या थोरै छ । त्यसैले अभिभावकरूले नै घरमै त्यस्ता बालवालिकालाई चाहिने सामग्री बनाएर प्रयोग गर्न सिकाइएकाे छ’, उनले भने ।
योसँगै मेलामा चार वटा समूहमा छुट्टा–छुट्टै सेन्सरी इस्युबारे अभिभावकहरूलाई जानकारी दिइएको निर्देशक श्रेष्ठले बताए । मेलामा चिकित्सक, अटिस्टिक तथा विकास अपाङ्गता भएका बालवालिकाका अभिभावक, विभिन्न विद्यालयका शिक्षक गरी जम्मा तीन सय जनाको सहभागिता रहेको उनले जानकारी दिए ।