काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको सोमबार अपराह्न पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिए । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
उनको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेता-कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको भिड लागेको थियो ।
यसअघि ढुंगानाको पार्थिव शरीर ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर शद्धान्जली व्यक्त गरेका थिए ।
८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।