कालीकोट : सुविधा सम्पन्न भवन बनेपछि जिल्ला अस्पताल कालीकोट टहरामुक्त बनेको छ । लामो समयदेखि स–साना टिनको टहराबाट सेवा दिँदै आइरहेको अस्पतालमा सुविधा सम्पन्न भवन बने पछि टहरा मुक्त बनेको हो ।
स्थापना कालदेखि नै साँघुरो र टिनको टहरामा सेवा प्रवाह गरिरहेको अस्पतालको भवनको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सोमवार उद्घाटन गरेका हुन् ।
अस्पतालले सुविधायुक्त भवन मात्र होइन, औषधीदेखि लिएर चिकित्सकसमेतको अभाव झेल्दै आइरहेको थियो । अब सुविधा सम्पन्न भवन बनेपछि सेवा प्रवाहमा पनि सुधार आउने छ ।
‘भवन अभावमा अस्पताललले बिरामीलाई गुणस्तरीय सेवा दिन सकेको थिएन । तर नयाँ भवनबाट सेवा दिन थालेपछि बिरामी तथा चिकित्सकहरूलाई पनि सहज भएको छ’, जिल्ला स्वास्थ्य प्रमुख डा.भिष्म पोख्ररेलले बताए ।
करिब २६ करोड रुपैयाँको लागतमा ५० शैयाको भवन निर्माण भएको हो । नयाँ भवन बनेपछि विषेशज्ञ चिकित्सकको पूर्ती गरिनुका साथै एम्बुलेन्स, रक्त बैंक र अन्य उपकरण उपलब्ध गराइने प्रमुख पोख्ररेलले बताए ।
भवन उद्घाटन गर्दै मुख्यमन्त्री कडेँलले आवश्यक उपकरण र विषेशज्ञ चिकित्सको व्यवस्था गर्ने बताए ।