२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

घरजग्गा कारोबार : सबैभन्दा बढी झापामा, अन्य जिल्लामा कति ?

Nada
२०८१ मंसिर ४ गते १२:१५
Shares
घरजग्गा कारोबार : सबैभन्दा बढी झापामा, अन्य जिल्लामा कति ?

काठमाडौँ : गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको संख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो । 

ncell

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् ।

विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी चार हजार दुई सय ६६ घर जग्गाको कारोबार भएको छ । मालपोत कार्यालय सुनसरीमा तीन हजार एक सय १५, बेलबारीमा दुई हजार आठ सय २१, धनुषामा दुई हजार एक सय ५८ वटा कारोबार भएका छन् ।

सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुंगामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ । 

सबैभन्दा बढी राजस्व संकलन गर्ने काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये कलंकीमा एक हजार छ सय ४९ घर जग्गाको कारोबार भएको छ । भक्तपुर मालपोतमा दुई हजार तीन सय ४८, डिल्लीबजार कार्यालयले नौ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतले एक हजार चार सय २३ वटा कारोबार गरेको छ ।   

विभागका अनुसार विसं २०८० कात्तिकमा ७७ हजार एक सय ८५ घर र विसं २०७९ कात्तिकमा ९७ हजार एक सय ९६ वटा कारोबार भएको थियो ।

विभागका अनुसार यस वर्षको कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबर राजस्व संकलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ ।

गत असोजको तुलनामा कात्तिकमा राजस्व संकलनमा पनि गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजस्व संकलन भएको थियो ।

विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व संकलन गरेको छ ।

मालपोत कार्यालय गोटीखेल ललितपुरले रु चार लाख ६७ हजार सात सय २०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार छ सय ४५ र डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार पाँच सय ४५ बराबरको राजस्व संकलन गरेका छन् ।

विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार नौ सय ९२, कलंकीले रु १७ करोड आठ लाख ४४ हजार सात सय ५१, साँखु कार्यालयले रु चार करोड ७९ लाख ५४ हजार नौ सय ४२, मनमैजु कार्यालयले रु पाँच करोड ५० लाख ९३ हजार छ सय ३२, टोखा कार्यालयले रु तीन करोड ५७ लाख २७ हजार छ सय ६५ बराबरको राजस्व संकलन गरेका छन् । मुलुकभर एक सय ३३ वटा मालपोत कार्यालय छन् । -रासस 

सम्बन्धित खबर