काठमाडौं : ‘वुमन्स अफ द वर्ल्ड फेस्टिभल’को सातौं संस्करण शनिबारदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिका र ब्रिटिस काउन्सिलले संयुक्तरुपमा मंसिर ८ र ९ गते फेस्टिभलको आयोजना गर्न लागेको काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी हुन् ।
उपप्रमुख डंगोलले कार्यक्रममा महिलाहरको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोसिस गरिएको भन्दै वुमन्स अफ द वर्ल्ड भन्ने वित्तिकै महिला मात्रै जाने होला भन्ने नसोची सबै जनालाई आउनका लागि अपिल गरिन् ।
उनले भनिन्, ‘हामीले कार्यक्रममा महिलाहरुको कुरा मात्र नभएर सबै विषयलाई समेटेर समावेशी पनि बनाउने कोसिस गरेका छौं । यो सबैका लागि हो पनि भन्न चाहन्छु । ८ र ९ गते यो कार्यक्रम हुँदैछ । नक्साल नारायण चौरमा आउनुहोला । वुमन्स अफ द वर्ल्ड भन्नेबित्तिकै महिला मात्रै जाने होला भन्ने पनि लाग्न सक्छ । यो कदापी होइन । यहाँ सबै जनालाई निमन्त्रणा छ ।’
महानगरपालिकाकी उपप्रमुख डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिह्न पहिले नै सार्वजनिक गरिसकेका छन् ।
सन् २०११ मा लण्डनको साउथ बैंकमा पहिलो सम्मेलन गरिएको थियो । लैंगिक समानता र समावेशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु फेस्टिभलको मुख्य लक्ष्य हो ।
२ दिने फेस्टिभलमा ३ वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ । ५ वटाभन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुति हुनेछन् । कम्तीमा ५०० विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा १०० जना भन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।