काठमाडौं : मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । २ महिनाको अवधिमा प्रसाईं दोस्रो पटक पक्राउ परेका हुन् ।
यसअघि ६ असोजमा पक्राउ परेका प्रसाईं जिल्ला अदालत काठमाडौंले १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि १५ असोजमा छुटेका थिए । त्यसबेला उनी साइबर अपराध गरेको आरोपमा पत्राउ परेका थिए । मंगलबार पनि प्रसाईं साइबर अपराधको कसूरमा पक्राउ परेका हुन् ।
प्रसाईंले सोमबार मात्र कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब रुवैयाँ लगानी गरेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । तर, सार्वजनिक विवरणमा उल्लेखित विवरण गलत रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार प्रसाईंलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार उही प्रकृतिको कसूरमा प्रसाईंलाई दोस्रो पटक पक्राउ गरिएको हो । एउटै अपराधमा एक पटकभन्दा बढी पक्राउ परेपछि पटके अपराधअन्तर्गत अनुसन्धान हुन्छ । यस्तोमा पटके अपराधअन्तर्गत प्रहरीले सजायको माग गर्न सक्छ ।
साइबर अपराधलगायतका अपराधमा कुनै व्यक्तिलाई प्रहरीले १ पटकभन्दा बढी पटक पक्राउ गर्यो भने त्यसलाई पटके अपराधअन्तर्गत अनुसन्धान गर्ने अभ्यास छ । प्रहरीका अनुसार पटके अपराध ठहरे साविकको सजायभन्दा बढी अर्थात् डेढी सजाय हुन्छ ।
प्रहरीका अनुसार हाल प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा अगाडि बढेको छ । यो मुद्दा लगाउनुको कारण हो– प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामग्री सार्वजनिक गर्नु र ती सामग्रीमा रहेका विवरणमा प्रश्न उठ्नु । प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको स्मार्ट टेलिकममा २१ करोड (साढे ३२ अर्ब रुपैयाँभन्दा बढी) लगानी रहेको भन्दै सामाजिक संजाल फेसबुकमा भिडियो पोस्ट गरेका थिए ।
यो प्रधानमन्त्रीलाई आरोपित गर्ने विषय भएको र गलत तथ्यको सहारा लिइएको भन्दै प्रहरीले पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा उनीमाथि अनुसन्धान अगाडि बढाएको हो । प्रसाईंमाथि किर्तेअन्तर्गतको कसुरमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी होबीन्द्र बोगटीले प्रेस विज्ञप्ति निकालेर भ्रामक समाचारहरू सम्प्रेषण गरेका कारण नियन्त्रण गरिएको उल्लेख गरेका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘दुर्गा प्रसाईंले सामाजिक संजाल फेसबुक एकाउन्ट र अपडेट सेरोफेरो नामक फेसबुक पेजबाट सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा (केपी शर्मा ओली)ज्यूको कम्बोडियामा लगानी भन्ने भ्रामक समाचारहरू सम्प्रेषण गरी सार्वजनिक नैतिकता, शिष्टाचारमा असर पार्नेगरी घृणा, द्वेष फैलाउने कार्य गरेको हुँदा निज दुर्गाप्रसाद प्रसाईंलाई सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०८१/०८/०४ गते पक्राउ अनुमतिअनुसार यस ब्युरोबाट खटी गएको प्रहरी टोलीले मिति २०८१/०८/०४ गते निजकै घर भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर– ६ बाट पक्राउ गरी ल्याइएकोमा थप अनुसन्धानको लागि साइबर ब्युरो भोटाहिटी काठमाडौं पठाइएको छ ।’