काठमाडौँ : भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदैछन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
उनलाई राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।
भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नेछन् ।
नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च टुँडिखेलको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जंगी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तरक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ ।
यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न एउटा महत्त्वपूर्ण कडीका रूपमा भूमिका खेल्ने विश्वास गरिएको छ ।