२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

‘वैकुण्ठ धाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकतामा छ’

Nada
२०८१ मंसिर ५ गते १५:११
Shares
‘वैकुण्ठ धाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकतामा छ’

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा निर्माण हुन लागेको सिधनियाघाटको वैकुण्ठ धाम निर्माण योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने भएको छ ।

ncell

आज आयोजित वैकुण्ठ धाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञान कथा यज्ञको समीक्षा बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले सो योजनालाई प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समावेश गरेर काम अघि बढाउने बताए । “यो निकै राम्रो सामाजिक कार्य हो । कुनै दलभन्दा पनि आमनागरिकको सहभागितामा अघि बढेकाले यस कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्नेछ”, उनले भने,“जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर आयोजना कार्यान्वयनलाई अघि बढाउन जरूरी छ ।” मुख्यमन्त्री आर्चायले महायज्ञबाट संकलन भएको रकमलगायत सबै स्रोतहरूको सही परिचालन गरेर आयोजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

डुडुवा गाउँपालिका-५ स्थित राप्तीनदी तटमा वैकुण्ठ धाम निर्माण गर्न थालिएको छ । विद्युतीय शवदाहगृहसहित किरियापुत्री घर, मन्दिर, सभाहल, ध्यान केन्द्र, पितृको मृत्यु कर्म, सोह्र श्राद्ध कर्म एवम् पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने गरी आध्यात्मिक उपवन ‘वैकुण्ठ धाम’ आयोजना अघि बढाइएको जनाइएको छ ।

वैकुण्ठ धाम निर्माणका लागि नागरिक सहभागिता जुटाउन कात्तिक २२ गतेदेखि महायज्ञसमेत सञ्चालन गरिएको थियो । त्यसबाट करिब ३ करोड संकलन भएको समितिका अध्यक्ष डा. सुरेशकुमार कनौडियाले जानकारी दिए ।- रासस 

सम्बन्धित खबर