झापा : उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्छिन् पाहानी राजवंशी र सुरु गर्छन् माटाको भाडामा भाक्का पकाउन । यतिबेला उनको दैनिकी नै बनेको छ यो काम ।
मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा विहान ४:३० बजे नै पुग्छिन् । पूर्वपश्चिम राजमार्गको किनारमै रहेका कारण उनले पकाएको भाक्का खानेका लागि भीड नै लाग्छ ।
पकाएको भाक्का ग्राहकलाई बेच्न उनका श्रीमान भद्रु राजवंशीले सहयोग गर्छन् । गोलभेडामा लसुन र अकबरे खुर्सानी मिसाएको पिरो अचारमा सालको पातमा श्रीमतीले बनाएको भाक्का प्रति गोटा रु. १० का दरले बेच्न भद्रुलाई भ्याईनभ्याई नै हुन्छ । उनले दैनिक जसो दुई हजारदेखि दुई हजार पाँच सयसम्मको भाक्का विक्री गर्दै आएका छन् ।
भाक्का खानका लागि बिहान मर्निङवाकमा हिंड्नेहरू, विद्यार्थी र गाडीका यात्रुहरू हुन्छन्। पाहानी राजवंशी मात्र होइन धुलाबारी चोक राजमार्ग किनारमा यतिबेला भाक्का बच्नेहरू आधा दर्जन जति छन् । उनीहरूले मङ्सिरदेखि माग मसान्तसम्म भाक्काको व्यापार गर्ने गर्छन् ।
चिसो मौसम सुरु भएसँगै पूर्वी तराईको झापा र मोरङका अधिकांश चोक बजारमा यसरी नै भाक्का खानेको भीड लाग्न थालेको छ। धानको पिठोबाट बनाइने भाक्का पोसिलो, स्वादिलो र अडिलो हुने हुँदा अधिकांश मानिसहरूले यसैलाई विहानको खाजाको रुपमा प्रयोग गर्ने गरेका छन् ।
प्रायः ग्रामीण वस्तीका आदिवासी समुदायका महिलाहरूले बिहान झिसमिसेदेखि नै पूर्वपश्चिम राजमार्गका किनारमा, गाउँ तथा शहरका चोक र गल्लीहरूमा माटाको हण्डीमा पानी उमालेर बाफमा भाक्का पकाएर विक्री गर्ने गर्दछन् । यसरी पकाएको भाक्का बच्चादेखि बृद्धबृद्धाको विहानको खाजा हुने गरेको छ ।
पूर्वी तराईको लोकप्रिय खानेकुराको रुपमा रहेको भाक्का सुरुमा राजवंशी समुदायका महिलाहरूले मात्र बनाउने गर्दथे। तर, यसको माग बढेपछि अहिले मेचे, धिमाल, ताजपुरिया र थारु महिलाहरूले समेत भाक्का बनाउन थालेका छन् । यसले राष्ट्रिय पहिचान पाइसकेका कारण प्रत्येक वर्ष पुस २९ गते झापामा विगत आठ वर्षदेखि भाक्का दिवस मनाउन थालिएको छ ।
भाक्का बनाउन धानको चामललाई पीठो बनाएर सानो आकारको बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने मेचीनगर वडा नं. ७ का वडाध्यक्ष प्रल्दाहमणि ओली बताउँछन् । राजवंशी समुदायको मौलिक खानेकुरा भाक्का अब सबै समुदायको साझा परिकार भएको उनी बताउँछन् । -रासस