बारा : विश्व प्रसिद्ध गढीमाई मेलाको प्रचार प्रसारका लागि बिहीबार विभिन्न ठाउँमा होर्डिङ बोर्ड लगाइएको छ । प्रचार प्रसार उपसमितिले गढीमाई मेलाको प्रचार प्रसारका लागि होर्डिङ बोर्ड ठाउँ-ठाउँमा जडान गर्न सुरु गरेको हो । विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि सुरु भए पनि अहिले प्रचार प्रसारलाई तीव्र पारिएको छ । गढीमाई मुल मेला मंसिर १७ गतेदेखि मंसिर ३० गतेसम्म लाग्ने भएकाले प्रचारलाई तीव्रता दिइएको हो ।
बिहीबार प्रचार प्रसार उपसमितिले ठोरी, पथलैया, वीरगनजलगायतका ठाउँमा होर्डिङ बोर्ड लगाएको छ । कोशी प्रदेशको विराटनगर, कोशी ब्यारेज पुल र सिमावर्ती क्षेत्रमा होर्डिङ बोर्ड जडान गर्न बाँकी रहेको छ । यस्तै मधेश प्रदेशको जनकपुर, निजगढ, अमलेखगञ्ज , बागमती पुललगायतका ठाउँमा पनि होर्डिङ बोर्ड जडान गर्न बाँकी रहेको छ ।
मंसिर १ गतेदेखि विधिवतरुपमा सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेला अवलोकन गर्ने दर्शनार्थीहरुको भिड बढेको छ । यस वर्षको गढीमाई मेलामा करिब ३ करोड दर्शनार्थीले मेलाको अवलोकन गर्ने गढीमाई मेला मुल व्यवस्थापन समितिले जनाएको छ । एसिया महादेशकै सबैभन्दा ठूलो बलि दिने मेलाको रुपमा गढीमाई मेलालाई चिनिन्छ ।