काठमाडौंः सहकारीको रकम अपचलन प्रकरणमाथिको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सकिएको छ ।
सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका जोशीको बयान आज सकिएको हो । मंगलबार पोखराबाट काठमाडौं ल्याइ बुधबार र बिहीबार गरी दुई दिन जिल्ला सरकारी वकिल कार्यालयमा जोशीको बयान लिइएकाे थियो । बयान सकिएसँगै जोशीलाई आज पोखरा लगिएको छ ।
जोशी पोखरा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । लामिछानेलाई शनिबार साँझ काठमाडौं ल्याइनेछ । उनको बयान आइतबारबाट सुरु हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा ५ वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् । सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जीवी राई सहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुनअनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।