काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका विभिन्न १० मुद्दाको फैसलाउपर चित्त नबुझि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । शुक्रबार एकैदिन १० वटा मुद्दा लिएर आयोग सर्वोच्च पुगेको हो ।
आयागले घनश्याम दुवेसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
प्रतिवादीहरु चन्द्र भुषण झा र भिम बहादुर रोकायलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र चार लाख ३८ हजार पाँच सय ५७ रुपैयाँ ८२ पैसा बिगो बमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुनुका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९को उपदफा (२) बमोजिम कैद र जरिवाना, प्रतिवादी दल बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (३)बमोजिम सजाय, प्रतिवादी सुष्मा (कार्की) भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय र रु. ४ लाख ३८ हजार ५ सय ५७.८२ रुपैयाँ बिगो कायम हुने गरी बिगो समेत जफतको मागदावी लिइ विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको थियो । तर विशेष अदालतले २०८० चैत १८ को फैसलाबाट सफाई दिएको थियो ।
यस्तै आयोगबाट विशेष अदालत काठमाडौंमा दर्ता भएको गलत प्रतिवेदन दिइ भ्रष्टाचार गरेको भन्ने प्रतिवादी विनोद कुमार यादव भएको मुद्दामा समेत अख्तियारमा पुनरावेदनमा गएको छ ।
प्रतिवादी विनोद कुमार यादवले विभिन्न मानिसहरुको विभिन्न मितिमा पी.सी.आर. परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारी बदनियतपूर्वक भए गरेको कुरा लुकाइछिपाई वा नभए नगरेको कुरा देखाई पि.सि.आर. प्रतिवेदन सम्बन्धित मानिसहरुलाई दिएको पुष्टि भइ निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिँदा निज प्रतिवादी बिनोद कुमार यादबलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन, मागदावी लिइ विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध समेत आयोग सर्वोच्चमा पुगेको छ ।
यस्तै आयोगबाट विशेष अदालत, काठमाडौंमा दर्ता भएको सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी परशुराम अधिकारीसमेत भएको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा गएको छ ।
यस्तै विशेष अदालत, काठमाडौंमा दर्ता भएको सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी केशव प्रसाद आचार्यसमेत भएको मुद्दामा पनि आयोग अख्तियारमा पुनरावेदनमा गएको छ ।
यस्तै विशेष अदालत, काठमाडौंमा दर्ता भएको सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी महेश सिंह कठायतसमेत भएको मुद्दामा पनि आयोग सर्वोच्चमा पुनरावेदनमा गएको छ ।
यस्तै विशेष अदालत, काठमाडौंमा दर्ता भएको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी सम्राट बहादुर शाह भएको मुद्दामा पनि आयोग पुनरावेदनमा गएको छ ।
यस्तै विशेष अदालत, काठमाडौंमा दर्ता भएको सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी चन्द्रसिंह लामासमेत भएको मुद्दामा पनि आयोग पुनरावेदनमा गएको छ ।
विशेष अदालत, काठमाडौंमा दर्ता भएको झुटा सरूवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी अमरप्रसाद भट्टसमेत भएको मुद्दामा पनि आयोग पुनरावेदनमा गएको छ । यस्तै विशेष अदालत, काठमाडौंमा दर्ता भएको सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी नारायण प्रसाद पौडेल भएको मुद्दामा पनि आयोग सर्वोच्चमा पुगेको छ ।