बारा : कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गरेका छन् । बारा जिल्लाको महागढीमाई नगरपालिका -१ बरियारपुरमा मंसिर १ गते देखि सुरु भएको उक्त मेलाको मन्त्री चौरसियाले शनिवार अवलोकन गरेका हुन् ।
गढीमाई मन्दिर पुगेर मन्त्री चौरसियाले गढीमाईको दर्शन गर्नुको साथै मेलाको अवलोकन गरेको प्रचारप्रसार उपसमितिले जनाएको छ । गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री चौरसियाले सनातन कालदेखि प्रत्येक पाँच बर्षमा गढीमाईको मेला लाग्दै आएको र गढीमाईमा आएपछि सबैको मनोकामना पूरा हुने गरेको बताए ।
हिन्दूहरुको ठूलो आस्थाको केन्द्रको रुपमा रहेको गढीमाई मेलामा नेपाल सरकारको पूर्ण साथ र समर्थन रहेको मन्त्री चौरसियाले बताए । नेपाल सरकार पर्यटन मन्त्रालयलाई आफू काठमाडौं गएर गढीमाई मेलाको बारेमा जानकारी दिने र पर्यटन मन्त्री समेत मेला अवलोकन तथा निरीक्षण गर्न आउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
विश्व प्रसिद्ध मन्दिरको रुपमा रहेको गढीमाई मन्दिरलाई अहिलेको सरकारले विश्व सम्पदाको सूचीमा समावेश गराउनको लागि पहल गर्नेसमेत मन्त्री चौरसियाले जानकरी दिए ।
गढीमाईको दर्शन गर्न आउने सबैको मनोकामना पूरा हुने गरेकोले सबै हिन्दूहरूसँग उनले मेला अवलोकन तथा गढीमाईको दर्शन गर्न आउनको लागि आग्रह गरेका छन् ।
विश्व प्रसिद्ध गढीमाई मेला सुरु भएसँगै अहिले केन्द्र र प्रदेशको मन्त्रीहरू मेलाको अवलोकन तथा निरीक्षण गरिरहेका छन् । यसवर्ष विश्व प्रसिद्ध गढीमाई मेलामा करिब ३ करोड दर्शनार्थी अवलोकन गर्न आउने मेला समितिको अनुमान छ ।