२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा

ADV
मध्यान्ह
२०८१ मंसिर ८ गते २१:०६
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा

काठमाडौं : बालअधिकार रक्षकहरुको तीन दिने राष्ट्रिय भेला काठमाडौंमा शुरु भएको छ । बालविवाह रोकथाम तथा न्यूनीकरणमा बालबालिकाको सभागिता अभिवृद्धि गर्ने तथा दक्षिण एशियामा बालविवाह रोकथामको क्षेत्रीय मूल्यांकन एवं कार्ययोजना तय गर्ने उद्देश्यले बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न ६ वटा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम शुरु भएको हो । 

कार्यक्रमको आयोजकहरुमा मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एशियाली पहल (साइवाग) रहेका छन् । 

उक्त भेलामा सातवटै प्रदेशमा बाल अधिकारको क्षेत्रमा काम गरिरहेका बालबलिकाका प्रतिनिधिहरुका साथै आयोजक एवं बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्य संघसंस्थाका प्रतिनिधि तथा विज्ञहरुको सहभागिता रहेको छ ।

प्रत्येक प्रदेशबाट तीन/तीन जना समेत गरी २१ जना तथा विभिन्न अल्पसंख्यक समुदायबाट थप १० जना समेत गरी ३१ जना बालबालिकालाई समेत सहभागी गराएर कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम अन्तर्गत बालबालिकाहरुले बालविवाह रोकथामका लागि गरेका प्रयास र त्यसक्रममा देखिएका चुनौतीबारे विस्तृत छलफल हुनेछ । कार्यक्रमको उद्घाटन सत्रमा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बालविवाह रोकथामका लागि कानूनी मात्रै नभएर अन्य पक्षहरुलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

अहिले बालविवाहको अभियोगमा पक्राउ परेकाहरुलाई जबरजस्ती करणी, शरिर बन्धक जस्ता अभियोग लगाएर वर्षौंसम्म जेलमा राख्ने गरेको भन्दै यसमा बालविवाहको कसुरमा मात्रै कारबाही गर्नुपर्नेमा जोड दिए । उनले एउटा अस्पतालमा ९९ जना सुत्केरीमध्ये १७ जनालाई २० वर्षभन्दा कम उमेरको पाएको बताउँदै कानूनी व्यवस्थाले मात्रै बालविवाह अन्त्य हुने अवस्था नरहेको बताए । यसका लागि समाजका विभिन्न पक्षमा सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा उनको जोड थियो । 

कार्यक्रममा संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले आफूहरुले १० बन्दीगृह र ३ बाल सुधारगृहको अनुगमन गर्दा बाल विवाहकै आरोपमा धेरै थुनामा पर्ने गरेको पाइएको बताइन् । सुवेदीले पनि बालविवाहको रोकथामका लागि जरासम्मै पुगेर समाधान खोज्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव दीपकराज नेपाल, साइवागका महासचिव रिञ्चेन छोपेल, गैर सरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जन जीएनबी ग्लोबलकी श्रृष्टी कोलक्षपति बाल अधिकार रक्षकका तर्फबाट बालिका प्रतिनिधि राजनन्दिनी चौधरी, राष्ट्रिय बाल अधिकार परिषद् सदस्य सचिव इन्द्रदेवी ढकाल, एनएसीजीकी ऋतु भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अमेरिकी सरकारबाट ग्लोबल एन्टी–रेसिजम च्याम्पियनसिप अवार्डबाट सम्मानित बाल अधिकारकर्मी उर्मिला चौधरीलाई सम्मान समेत गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise