नेपालगन्ज : नेपालगन्ज बजार क्षेत्रमा फुटपाथ व्यवस्थित हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाले जोसुकैले व्यवसायीक रूपमा प्रयोग गर्ने र सामान राखेको पाइए कारबाही गर्ने निर्णय गरेको थियो ।
नेपालगन्जका विभिन्न क्षेत्रमा सडक फुटपाथ खुल्लारूपमा अतिक्रमण गरिएको देखिएपनि मेयरदेखि वडासदस्यसम्मका स्थानीय सरकारको नेतृत्व गर्ने व्यक्तिहरूले वेवास्था गरेको अवस्था छ । सडक क्षेत्र व्यवस्थित गर्ने सवालमा नियम मिच्ने सबैलाई कारबाही हुनुपर्नेमा सामान्य काम गरेर गुजारा गर्नेहरूलाई मात्र उपमहानगरपालिकाले कारबाही गर्ने गरेको त्रिभुवन चोकका एक व्यापारीले बताए ।
नेपालगन्जको विभिन्न क्षेत्रसँगै घरबारी टोलमा समेत मानिस हिँड्ने फुटपाथ सडक पेटी व्यापारीको कब्जा छ । तर हालसम्म नत नगरप्रहरी, नत स्थानीय सरकारको आँखा त्यहाँ पुगेको छ । हिँड्न बनाएको फुटपाथ हिँड्डुल गर्न गाह्रो हुने गरी व्यापारीहरु सडकको फुटपाथमा सामान फिजाएर राख्नले पैदलयात्रीहरुलाई सास्ती भएको छ ।
उपमहानगरालिकाले फुटपाथ खाली गर्ने निर्णयपत्र देखाउँदा पनि व्यापारीहरु सो नियम उल्लंघन गर्दै अट्टेरी गरेको देखिन्छ । नेपालगन्ज शहरकै व्यस्त सडकमा गनिने घरबारी टोलको व्यापारीको यस्तो हर्कतले बजारको सौन्दर्यमा असर त पारेको छ नै, सर्वसाधारण मानिस आफ्नो ज्यान जोखिममा राखी सडकमा यात्रा गर्नु परेको एक व्यक्तिले मध्यान्हसँग गुनासो गरे ।
‘घरबारी टोलका व्यापारीहरु आफू हामी हिँड्ने बाटोमा सामान राख्छन् । अनि हामीले साँघुरिएर हिँडेपनि शरीरले उनीहरूको झुण्डिएको सामानमा छोइदा आफूले गाली सुन्नु पर्दछ’ एक पैदलयात्री तारामान खड्काले बताए ।
समय–समयमा हुने फुटपाथ हटाउने कार्य देखाउनका लागि मात्रै नगर प्रहरीले गर्छन् । नेपालगन्जका नगर प्रहरी इन्चार्ज, प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीले हाल आफू बिदामा रहेको र फुटपाथ व्यवस्थापनका लागि कडा निर्देशन दिएको बताए ।
फुटपाथ खाली गर्न सार्वजनिक सूचना जारी गरिएकाले सो सूचनाविरूद्व जानेलाई कारबाही गरिने उनले बताए । ‘कारबाही सबैलाई गरिने हो,’ इन्चार्ज बोगटीले भने ‘तर पहिलो चरणमा सूचना जारी गरिएको छ, म फर्किएलगतै कारबाही भए÷नभएको विवरण भन्न सक्छु ।’
दिनहुँ रूपमा उपमहानगरपालिकाका नगर प्रहरी गस्तीमा निस्कँदा ठेलाको सामान उठाउन तयार हुने नगरप्रहरी व्यापारीसँग भने मुकदर्शक भएर फर्किने गरेका छन् । नगर प्रहरीका सकेण्ड म्यान रहेका पवन कनोजियाले अटेरी गर्नेलाई कारबाही गरिरहेको बताए ।
‘कार्यालय प्रमुखले कडा आदेश नदिएको कारणले हामी भन्दै हिँड्ने गरेको छौं, तर व्यापारीले नमानेपछि व्यक्तिगत रिसिबी लिन सक्दैनौं’ एक नगर प्रहरीले भने । नेपालगन्जको धम्बोजी चोकदेखि बागेश्वरी मन्दिरसम्मको मुख्य बजार क्षेत्र घरबारी टोलमा व्यवस्थित गर्न एकतर्फी सवारी पार्किङ व्यवस्था गरिएपनि मनपरी ढंगले सवारी पार्किङ र व्यापारीहरूको पसलमा अव्यवस्थित सामान फुटपाथमा फिजारिदिँदा पैदलयात्रीलाई हिँड्न समस्या परेको हो ।
एक त घरबारी टोलको फुटपाथ साँघुरो छ, त्यही पनि यहाँका व्यापारीहरूले फुटपाथको अधिकांश भाग छेकिने गरी सामान झुन्ड्याउने र सामान राखिदिनाले सडकमै हिँड्न बाध्य पैदलयात्रीलाई समस्या हुने गरेको छ ।