चितवन : मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले १ जनालाई पक्राउ गरेको छ । ५ जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले निजलाई नारायणगढबाट बुधबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए । उनका अनुसार विभिन्न स्थानका युवतीहरूलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङलाई पक्राउ गरिएको हो ।
मिश्रले भने, ‘थिङले युवतीहरूको पासपोर्ट संकलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागिएको थियो । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरूलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।’ मानव बेचबिखनको यो नयाँ स्वरूप भएको उनले बताए ।
मिश्रले भने, ‘थिङको नियत खराब भएको थाहा पाएपछि युवतीहरूले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए ।’ थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको जनाउँदै उनले युवतीहरूको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको जानकारी दिए ।