भक्तपुर : बुद्ध दर्शनसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ आइतबार सम्पन्न भएको छ ।
सम्मेलनमा थाइल्याण्डबाट आएकी ९८ वर्षीया आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने भन्ने विषयमा प्रवचन दिइन् ।
कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भएको एक दिने सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए ।
‘धम्म डिस्कसनविद् आचार्य सुजिन’ नामक सम्मेलनमा बुद्ध धर्मका विद्वान, अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरी थाइल्याण्डसहित विभिन्न देशबाट ६० जना सहभागी थिए । यस्तै नेपालबाट ४ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
त्यस अवसरमा मन्त्री पाण्डेले बुद्धले दिनु भएको ज्ञानलाई आफ्नो जीवन पद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । मन्त्री पाण्डेले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नुभन्दा पनि बुद्घको ज्ञानलाई आफ्नो जीवनमा अनुसरण नगर्नुपर्छ ।’
देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्घान्तिक भन्दा व्यवहारिक र सदाचारि बनाउनु पर्ने आवश्यकता औल्याउदै मन्त्री पाण्डेले शिक्षा पद्घति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनु पर्नेमा जोड दिए । विभिन्न देशका बुद्ध धर्मका आध्येताहरूलाई नेपालको धर्म, संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गरेको बताए ।
बुद्ध नेपालमा जन्मिएको भए पनि बुद्धको सन्देश विश्वभरि फैलाउन योगदान गरेकोमा मन्त्री पाण्डेले बुद्ध धर्मकी व्याख्याता आचार्य सुजिन लगायतको समूहलाई धन्यवाद दिए ।
कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पूर्वराजदुत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तेश्रो विश्व युद्घ त हुदैन भन्ने त्रास रहेको बेला बुद्घ जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुसरण गरिरहेका देशका विद्घानहरू एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्वपूर्ण भएको बताए ।
भेनिरियल भिक्खु भन्टे सुमाङ्गलोले बुद्धको सन्देश विश्वभर फैलाउन आचार्य सुजिनको योगदान स्मरणीय रहेको चर्चा गरे ।
कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा. डा.वाशुदेब काफ्ले, त्रिविवका पूर्वउपकुलपति प्रा.डा.उपेन्द्र कोइराला, प्रा. डा. दयाराम श्रेष्ठ, बाग्मती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, आयोजक कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्द बहादुर कार्कीसहितको सहभागिता थियो ।