२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

दोस्रो अल नेपाल हिफ्ज–ए–कुरान प्रतियोगिता हुने

ADV
शहबाज खान
२०८१ मंसिर ९ गते २०:२६
दोस्रो अल नेपाल हिफ्ज–ए–कुरान प्रतियोगिता हुने

कपिलवस्तु : दोस्रो अल नेपाल हिफ्ज–ए–कुरान प्रतियोगिता काठमाडौंमा हुने भएको छ । साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा डिसेम्बर २१ देखि २३ सम्म हुन लागेको हो ।

प्रतियोगिता पवित्र कुरानको शिक्षालाई प्रवद्र्धन गर्ने र यसको महत्त्वलाई उजागर गर्ने राम्रो अवसर भएको राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अल्कूफीले बताए । उनले प्रतियोगितालाई नेपालका मदरसाका छात्र–छात्राहरूका लागि बहुमूल्य अवसरको रूपमा वर्णन गरे ।

‘यो प्रतियोगिताले उनीहरूको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न मद्दत गर्छ । पवित्र कुरान अल्लाहको महान वाणी हो, जसले संसार र परलोकका लागि मार्गदर्शन प्रदान गर्दछ । यसलाई कण्ठ गर्नेहरूलाई इस्लाम धर्मले उच्च स्थान दिएको छ’, उनले भने ।

प्रतियोगिताले मुस्लिम समुदायमा कुरानप्रति प्रेम जागृत गराउँदै नयाँ पुस्तालाई यससँग नजिक्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । 

हिफ्ज–ए–कुरानले छात्र–छात्राहरूको बौद्धिक तथा मानसिक क्षमता र नैतिक शिक्षामा सुधार ल्याउने विश्वास अध्यक्ष अल्कूफीले व्यक्त गरे ।

प्रतियोगिताले छात्र–छात्राहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र तजवीद (शुद्ध उच्चारण) तथा इत्तेकान (कण्ठ गर्ने दक्षता) मा निपुणता हासिल गराउन मद्दत गर्ने पनि उनले बताए ।

अल्कूफीले भने, ‘यो प्रतियोगिता केवल पुरस्कार जित्ने अवसर होइन, कुरानसँग प्रगाढ सम्बन्ध स्थापना गर्ने सुनौलो मौका हो । अभिभावकहरूले बालबालिकाको तयारीमा सहयोग गर्नुपर्छ र उनीहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’

प्रतियोगिता छ श्रेणीमा हुनेछ । पूरा कुरान, १५ पारा, ५ पारा, २ पारा (छात्र/छात्रा दुवै सहभागी हुन सक्ने) अभिभावक र मदरसाका जिम्मेवार व्यक्तिहरूले बालबालिकाको सहभागितालाई सुनिश्चित गर्नुपर्ने उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise