दोहा : कतारको स्थानीय कम्पनी कतार एयरवेजमा कार्यरत नेपालीहरू मिलेर स्थापना गरेको सदभाव युवा समाज कतारले सुनसरी जिल्लाको स्कुलहरूमा ‘झोला तथा शैक्षिक सामग्री’ वितरण गरेको छ । सदभाव युवा समाज नेपालसँगको सहकार्यमा सुनसरी जिल्लाको बराहा क्षेत्र नगरपालिका वडा नं ०९ का विभिन्न विद्यालयहरूमा उक्त सामग्री वितरण गरेको हो ।
उक्त वडाका हुल्कु आधारभूत प्राथमिक विद्यालयमा ५०, श्री जंगा(बहुभाषिक) आधारभूत विद्यालय ४७ र जलपा आधारभूत विद्यालय ४५ गरी जम्मा १ सय ४२ जना विद्यार्थीहरुलाई ‘सदभाव उपहार’ स्वरूप स्थानीय समाजसेवी एवं जनप्रतिनिधिको रोहबरमा झोला तथा शैक्षिक सामग्री वितरण गरिएको समाज कतारले जनाएको छ । उक्त वडामा रहेका पिछडिएको समुदायका विपन्न परिवारको विद्यार्थीहरुलाई थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले उक्त सामग्री सहयोग स्वरूप वितरण गरिएको समाजका अध्यक्ष विजय गुरुङले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए । उनले उक्त कार्यक्रम सम्पन्न गर्न खटिने सम्पूर्ण प्रति आभार व्यक्त गरे ।
सामाजिक सदभाव र आपसी सहयोगको लागी समाजले आवश्यकता अनुसार नेपालभर नै सहयोग गरिरहेको छ । केही समय पहिले पाठेघरको क्यान्सर रोगबाट ग्रसित पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङकी ५५ वर्षीया गंगा दमाईको उपचारका लागि १७ हजार ५ सय ४० रुपैयाँ नगद सहयोग गरेको थियो भने केही दिनभित्र गुल्मी जिल्लाको सिद्ध प्रा.वि. इस्मामा सामग्री वितरण गर्न पुग्ने तयारी गरिरहेको छ ।