२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

ADV
मध्यान्ह
२०८१ मंसिर १० गते १४:२६
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् ।

आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारे ।

“हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो,” प्रधानमन्त्री ओलीले भने, “हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राख्छौं । त्यसकारा यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा (एमाले) का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउँनुको कुनै अर्थ छैन । विश्वा शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौं म साथीहरुलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।”

उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए । 

प्रधानमन्त्री ओलीले अर्काे छिमेकी भारतसँग पनि उस्तै मित्रवत सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए । उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने आग्रह गरे ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभइ मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको स्पष्ट पारे । उनले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए । 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेण्डाका विषयमा गृहकार्य भइरहेको र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेण्डालाई अन्तिमरुप दिने बताइन् । उनले यस विषयमा दुई दलमा बाहिर आए जस्तो कुनै विवाद नरहेको बताइन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं उपत्यका बाहिर रहेका कारण अनुपस्थित थिए भने पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व परराष्ट्रमन्त्रीहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. विमला राई पौड्याललगायत सहभागी थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise