इटहरी : सिङ्गो देशलाई सडक मानवमुक्त बनाउने अभियानमा रहेको र अशक्त तथा असहायहरूलाई सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले सोमबार आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलको सभाध्यक्षमा भएको कार्यक्रममा कर्मचारी, जग्गादाता र सहयोगीहरूलाई सम्मान गरियो । त्यस अवसरमा अध्यक्ष प्याकुरेलले संस्थाको गतिविधिका बारेमा जानकारी दिइन् । माया घरले आर्थिक वर्ष २०८०/८१मा विभिन्न जिल्लाहरूबाट ६ सयभन्दा बढी असाहाय, अशक्त र वेवारिसेहरूको उद्धार तथा पुनःस्थापना गरेको छ । त्यस्तै एक इट्टा अभियानबाट संस्थालाई २० लाख ४३ हजार ७ सयभन्दा बढी रुपैयाँ संकलन भएको अध्यक्ष प्याकुरेलले जानकारी दिइन् ।
माया घरमा आश्रितहरूलाई राख्न तथा पालनपोषण गर्न दाताहरूकै भर पर्नु पर्ने अवस्थाको अन्त्यका लागि तीन वटै तहका सरकारले अत्याधिक चासो राख्नु पर्ने अध्यक्ष प्याकुरेलले बताइन् ।
साथै युवा अवस्थामा पुगेका आश्रितहरूको नेपाली नागरिकता प्राप्तिका लागि सरकारलाई पहल गरिदिन उनले आग्रह गरिन् । नागरिकताका अभावमा आश्रितहरू शिक्षाबाटै वञ्चित हुनुपर्ने अवस्था आइसकेको र उनीहरूको रोजगारी गर्ने बाटोसमेत बन्द भएकोले तीन वटै तहको सरकारले यस विषयमा गम्भीर बन्नुपर्ने उनले जोड दिइन् ।
यस्ता बेसहारा मानिसहरूलाई गाँस, बास र कपासलगायत उनीहरूको स्वास्थ्य उपचारमा पनि अत्यधिक खर्च हुने गरेको र संस्था संचालनमा पनि मासिक करिब ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुने गरेको अध्यक्ष प्याकुरेलले सुनाइन ।
कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सरकारले बोक्नु पर्ने दायित्व यस संस्थाले निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
उनले यस्ता सामाजिक कार्यहरूमा लाग्दा सबै तहको सरकारसँग सहकार्य हुनुपर्नेमा जोड दिए । संस्थामा आश्रितहरूका लागि आवश्यक खाद्यन्न, लत्ता कपडाका लागि सम्बन्धित निकायहरूमा पहल गर्ने मन्त्री मगरले आश्वासन दिए । उनले आपश्रतहरूलाई नेपाली नागरिकता दिलाउने विषयमा पनि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने र माया घर भवन निर्माणका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट बिनियोजन गरिदिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष लक्ष्मी बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
संस्थामा हाल १४६ जनाले आश्रय लिइरहेका छन् । जसमा ज्येष्ठ नागरिक ९३, बालबालिका १४, अपाङ्ग १३ र युवा २६ जना छन् ।