२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बीआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छ : सञ्चारमन्त्री

Nada
२०८१ मंसिर ११ गते १३:५९
Shares
बीआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छ : सञ्चारमन्त्री

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारेका छन् ।

ncell

सरकारका प्रवक्तासमेत रहेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने बताए ।

धुलिखेलमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले भने, “बीआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको छ, तर सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन, एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्छ ।” उनले सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने पक्षमा नभएको दोहोर्‍याए । सञ्चारमन्त्रीले भने, “जुनसुकै मुलुकबाट हामी ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ ।” 

अन्तरमन्त्रलाय असमझदारीका कारण केही विकास परियोजनाहरु लम्बिएको पाइएकाले प्रक्रिया मिलाएर तिनलाई समाधान गर्दै अघि बढ्नु सरकारको दायित्व रहेको उनले बताए । मन्त्री गुरुङले रु १८ खर्ब ५० करोडमध्ये करिब रु तीन खर्ब मात्र पुँजीगत खर्च छुट्याउँदा आधा पनि उपयोग हुन नसकेको अवस्थामा पुँजीगत खर्च किन भएन भन्नेबारे राज्यले खोजबिन गर्नुपर्ने अवस्था आएको बताए । “समयानुसार नीति निर्माण नभएर वा अन्य कारणले पुँजीगत खर्चमा वृद्धि भएन त्यसको लेखाजोखा गरौँ, हाम्रा कार्यशैलीमा पनि परिवर्तन गर्न आवश्यक छ । राज्य संयन्त्रलाई प्रणालीमा सञ्चालन गर्नैपर्छ विकास निर्माणलाई नै पहिलो कार्यसूची बनाउनुपर्छ”, स्रोत र साधनको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिँदै सञ्चारमन्त्रीले भने । 

मन्त्री गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकामा चिन्ता व्यक्त गर्दै आधारहीन समाचारको पछि नलाग्न सञ्चारमाध्यमहरुलाई आग्रह गरे । उनले असत्य खबरका कारण परिवार विग्रह हुन थालेको बताए । मिडियाका समाचारले आत्महत्यासम्मका गम्भीर परिस्थिति सिर्जना हुने गरेकाले मिडियाले संवेदनशील भएर प्रेस स्वतन्त्रताको उपभोग गर्नुपर्ने उनले बताए ।  सञ्चारमाध्यम र सञ्चारकर्मी मर्यादाभित्र रहेर प्रकाशन एवं प्रसारण गर्नेतर्फ दत्तचित्त हुनुपर्ने दायित्वबाट नचुक्न उनले सुझाए ।

ताजा खबर

सम्बन्धित खबर