२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

सेतो मनकी ‘काली दिदी’

ADV
अस्मिता बम
२०८१ मंसिर १४ गते ०६:३०
सेतो मनकी ‘काली दिदी’

काठमाडौं : बालकुमारी सडक छेउमा एउटा ठेला, ठेलामा रापिलाे कोइलामाथि सेकिँदै गरेका मकैका घोगाहरू । ती घोगा ओल्टाइपल्टाइ गर्न एउटा हातमा चिम्टा र अर्को हातमा कपडाको हाते पङ्खा, जाडो छल्न लगाएको मोटो ज्याकेट, टोपी, कान अनि घाँटी छोप्ने गरी ओडेको सल । हरेक दिन यस्तै अवस्थामा भेटिन्छिन् काली दिदी । 

विगत ३० वर्षदेखि मकै बेच्दै आइरहेकी काली दिदीको वास्तविक नाम हो, माया मगर । ३ दशकको अन्तरालमा जति उनले सम्पत्ति कमाइन्, त्योभन्दा बढी उनले मकै खान आउने ग्राहकको स्नेह कमाएकी छन् । तिनै ग्राहकले दिएको उपनाम हो, काली दिदी ।

धरानकी स्थायी वासिन्दा भए पनि काठमाडौंका सडकमा संघर्ष गर्न थालेको उनलाई ४० वर्ष बितिसकेको छ । यो ४० वर्षमा सायदै कसैले काली दिदीजति संघर्षको पापड बेल्यो !

५६ वर्ष पुगेकी दिदीको स्वभाव उमेरअनुसारको पनि छैन । उनी ग्राहकअनुसारको व्यवहार दर्शाउँछिन् । आर्थिक अवस्था नाजुक भएकै कारण पढ्न नपाएकी काली दिदी निरक्षर जस्ती पनि देखिन्नन्, फरासिली छन् । सुनेरै बुझेका अंंग्रेजी शब्द पनि स्पष्ट बोल्छिन् ।

उनलाई ‘पुरानो जमानाकी मोडर्न महिला’ पनि भन्न सकिन्छ । आत्मबलले श्रीमान् बितेको १५ वर्ष पुग्दासम्म पनि उनी कहिल्यै आफ्नो जिम्मेवारीबाट पछि हटिनन् । २६ वर्ष पुगेको छोरालाई मकै बेचेरै स्नातक पढाइसकेकी छन् । 

दिदीलाई नोकरी गर्न भने मनपर्दैन । भन्छिन्, ‘अरूकोमा काम गरेर समय धेरै दिनुपर्छ । उनीहरूले भने जसरी काम नगर्दा गाली पनि खाइन्छ । समयमा पैसा आउँछ कि आउन्न, थाहै हुन्न । त्यही भएर नोकरी भन्दा त यही ठेला समात्यो, जति बेला मन लाग्छ हिँड्यो । न कसैको गाली, न केही ।’

काली दिदीका कहिले मकैसँगै हातका औंला पोलिए त कहिले महानगरको लखेटाइमा चप्पल चुँडिए । दिदीको कोठा भने कोटेश्वरमा छ । २ वर्षअघि उनको ठेला त्यही थियो । तर, महानगरको पटकपटकको लखेटाइपछि उनी आफ्नो कार्यक्षेत्र बदलेर ललितपुरको बालकुमारी सरेकी हुन् ।

खुला विचार भएकी दिदी भन्छिन्, ‘बालेनको टोलीले २ वर्ष पहिले समानसहितको ठेला लिएर गयो । ४० हजार रुपैयाँको नोक्सान भा’को थियो । घाटा भा’को बेला गाली गर्न मन लाग्छ । तर, ठिकै पनि गरेको हो । व्यवस्थित बनाउनुपर्छ शहर ।’

उनी मकै बाह्रै महिना बेच्छिन्, बदान हिउँदमा मात्रै । काभ्रेबाट आएको मकै र बदाम बेचेर ४/५ वर्षअघि दैनिक २ हजारदेखि २५ सय रुपैयाँ कमाउने काली दिदीको कमाइ त्यसयता भने ५०० देखि ७०० रुपैयाँमा सीमित छ । भन्छिन्, ‘पहिला मान्छे भएको ठाउँमा गएर बेचिन्थ्यो र धेरै बिक्थ्यो । त्यो बेला एक बोरा बदाम, २ डोको मकै जान्थ्यो । अहिले खै त ? २ बाल्टी ल्याउँछु, त्यही नि बच्छ कहिले । अब यही सडकको किनार हो । खान मन लागे मान्छे गाडी, बाइक रोकेर पनि आउँछन्, नभए यस्तै हो, टाइम पाइस ।’

थोरै कमाइ भयो भनेर दिदीको अनुहारमा निराशा भने देखिएन । उनी भन्छिन्, ‘जसको भाग्यमा जति छ, त्यति मिल्छ । कमाइ भएन भनेर दुखी हुँदै घर बसेँ भने त आइरा’को पनि गुम्छ ।’

दिउँसो २ बजेदेखि रातिको ८ः३० सम्म दिदीले ठेला लगाउँछिन् । समयले दिएको पीडालाई मकैसँगै पोल्दै उनी ग्राहकहरूसँग गफिँदै आफ्नो पीडा भरिएको मनलाई सान्त्वना दिन्छिन् । 

‘हार्ट अट्याकले भिनाजु बिते डेढ लाख खर्च भो । बहिनी बिती । आफ्नो खुट्टा नि भाँचियो ३ वर्षअघि । भएभरको बज्रपात मैमाथि प¥यो जस्तो लाग्थ्यो’ भन्दै मन हलुका पारिन् दिदीले । 

मकै बेचेकै पैसाबाट गरेको बचतले साढे ३ लाख रुपैयाँ लगाएर खुट्टाको उपचार गरेको दिदीले बताइन् । ‘कसैसँग ऋणदान गरिनँ । यो जाबो मकै पोल्नेलाई कसले ऋण दिन्छ ? सय रुप्पेले त भने नि छैन छैन भन्छन् । त्यत्रो ३ लाख कसले दिओस् । आफ्नै मिहिनेतको पैसा थियो । त्यसैले उपचार गरेँ’, निराश हुँदै वेदना पोखिन् ।  

काली दिदीका लागि ठेला एउटा ठूलो कम्पनी सरह हो । ‘यो ठेला हेर्दा सानो देखिएला तर यसले मलाई केही कुराको कमी हुन दे’को छैन । दिनभर यसैमाथि मकै पोलेर कसैको भोक मेटाइरा’ छु, त्योभन्दा ठूलो सन्टुष्टि केहीमा मिल्दैन मलाई । कमाइ थोरै छ तर आफैं मालिक छु, आफैं कामदार’, काम सानो ठूलो नसम्झिने उनले भनिन् । 

हिम्मत र आत्मविश्वासका साथ मिहिनेत गरे फल अवश्य पाइने काली दिदीको विश्वास छ । ‘जाबो यो ठेलामा मकै पोलेर बेचेर नि के बस्या’ होला भन्छन् कतिले । जता गरे पनि, जे गरे पनि गर्ने कामै हो, कमाउने पैसा नै हो । ठेलाका लागि त झन् न ठूलो ठाउँ चाहिन्छ, न त लगानी धेरै । कम्ता सुख दे’को छ यसले मलाई’, उनले भनिन् ।

‘लगानी छैन, ठाउँ छैन भन्छन् कतिले । म त रोडमै उभिएर यही ठेलामा मकै बेचेको वर्षौं बितिगो, भइराखेकै छ । छोरो पालेकै छु । बुहारी ल्याउनलाई पैसा पनि जोड्दै छु’, जिस्किँदै यथार्थ बोलिन् उनी ।

काली दिदीका लागि सफलताको कडी हो, ‘आफ्नो क्षमताअनुसारको काम गर्न नलजाउने, थोरै भए पनि बचत गर्ने अनि मुस्कुराइरहने र बाँच्नका लागि खाने, खानका लागि बाँच्ने  होइन ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise