पूर्वी नवलपरासी : महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा निर्माण भएको नयाँ पक्की पुल आउँदो शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।
पुलको ढलान भएको करिब चार साता पछि अब सो पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो ।
सडक आयोजनाको पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबीचको छलफलपछि शनिबार साँझदेखि पुल खुला गरिने जानकारी दिए ।
यसअघि, विनयी खोलामा करिब ५२ वर्षअघि निर्माण गरिएको फलामे पुल गत पुस २६ गते मालबहाक ट्रक चल्दा भाँचिएको थियो । त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो ।
महेन्द्र राजमार्गको दुम्कीवासदेखि करिब ४ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा बाबाको मन्दिर आसपास सामान्य वर्षा हुँदा हिलोमा गाडी फस्ने र जाम हुने समस्या दोहोरिरहेको छ ।
आयोजना प्रमुख रिजालका अनुसार चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र परामर्शदाता कम्पनीलाई अबको २ महिना दाउन्ने सडकमा केन्द्रित भएर काम गर्न निर्देशन दिइएको छ ।