वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिकाका जनप्रतिनिधिहरूले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री र प्रयोग रोक्न सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।
शनिबार सखुवाप्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको ‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री तथा वितरण नियन्त्रण ऐन, २०४९’ सम्बन्धी कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष र ६ वटै वडाका वडाध्यक्षले उक्त प्रतिबद्धता जनाएका हुन् ।
गाउँपालिका अध्यक्ष जसवन्त यादवले आमाको दूध शिशु स्वास्थ्यको मेरुदण्ड भएको उल्लेख गर्दै आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री र प्रयोग रोक्न कानुनी व्यवस्था अनुसार पालिकाले कठोर कदम चाल्ने प्रतिबद्धता जनाए ।
यस्तै कार्यक्रममा सहभागी वडाध्यक्षहरू बासुदेव महतो थारु, चिरञ्जीवी महतो थारु, मोजामिल अन्सारी, मोदारीफ अन्सारी, अशेश्वर यादव र मुना कमकरले पनि आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको प्रचारप्रसार, बिक्री र प्रयोग रोक्न आफूहरूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।