काठमाडौं ः चितवनको इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङका अनुसार ३ करोड १९ लाख ६३ हजार १२८ रूपैयाँको लागतमा ती घर निर्माण गरिएको हो ।
वडा नम्बर १ मा ७, वडा नम्बर २ मा ५, वडा नम्बर ३ मा ५, वडा नम्बर चारमा ६, वडा नम्बर ५ मा ५, वडा नम्बर ६ मा ८ र वडा नम्बर ७ मा ९ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
वडा नम्बर ४ को खैरहनीटारस्थित कमला चेपाङलाई हस्तान्तरण गर्न निर्माण गरिएको घरमा कार्यक्रमको आयोजना गरी सबै परिवारलाई घर हस्तान्तरण गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले क्रमशः ग्रामीण क्षेत्रका विपन्न परिवारलाई घर निर्माण गर्नुपर्ने बताए ।
गाउँपालिका अध्यक्ष गुरुङले वडाहरूले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको बताए । गत आर्थिक वर्षमा २२ घर निर्माण गरेकोमा चालु आवमा दोब्बर सङ्ख्यामा घर बनाइएको हो ।
अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसङ्ख्यक चेपाङ बसोबास गर्छन् । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालसहित वडाध्यक्ष लगायत स्थानीयको सहभागीता रहेको थियो ।