काठमाडौं- नेपाल ओलम्पिक कमिटीमाआबद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेस्नल स्पोर्ट एसोसिएसन्ले विभिन्न मागसहित पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
बुढानिलकण्ठस्थित देउवा निवासमा आइतवार खेल संघहरूका अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूले ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरूसँगको छलफल र परामर्शमा यथाशीघ्र घोषणा गरिनुपर्ने, खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामाग्रीहरूको गुणस्तरको परीक्षण, खेलाडीहरूको खानपिन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझावसहित अघि बढाइनु पर्ने माग गरिएको छ ।