रोल्पा : पूर्वी रोल्पामा झोलुङे पुल बनाउन खाल्डो खनेर पर्खाल लगाउने क्रममा माथिबाट ढिस्को खस्दा पाँच जनाको मृत्यु भएको छ ।
सुनछहरी गाउँपालिका–३ बाहिरी गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डो खनि पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्को आएर उनीहरुलाई पुरेको थियो ।
इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अरुण तामाङका अनुसार एल.बि.एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गरेका थिए । उनीहरुमध्ये २ जना भाग्न सफल भएका छन् ।
मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका–३ बाहिरी गाम बस्ने वर्ष ४५ का दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियार रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिएका छन् ।
घटनाबारे सूचना आएपछि चौकीबाट गाम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रकाश बिष्टको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल सदरमुकाम लिबाङबाट २८ कोष पूर्वमा पर्दछ ।