गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ माथि हातपात गरेको स्वीकार मात्रै गरेका छैनन्, थप उत्साहका साथ पत्रकार सम्मेलन नै गरेका छन् । मुख्यमन्त्री कप फुटबलको व्यवस्थापनका विषयलाई लिएर प्रदेश सांसद मनाङ्गेले कुटपिट गरेका हुन् । तिनै सांसद मनाङ्गेले बुधबार पत्रकार सम्मेलन गरी आफूले कुटपिट गरेको समेत स्वीकार गरे । उनले एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङलाई नै कुटपिट गर्ने योजना बनाएको तर, कर्मालाई नभेटे पछि जिल्ला अध्यक्ष गुरुङलाई कुटपिट गरेको समेत बताए ।
त्यति मात्र होइन, उनले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र झलनाथ खनाल माथि जनताले हातपात गर्दा खुशी मनाउनेहरु आफूले कुटपिट गर्दा दुखी हुनुपर्ने कारण नरहेको अभिव्यक्ति पनि दिए । सांसद मनाङ्गेको अभिव्यक्ति र मुहारमा कतैपनि पश्चताप देखिन्न, बरु बहादुरी नै देखाउने प्रयास गरेका छन् र पत्रकार सम्मेलन बाहेक आम सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता नै दिएर कुटपिट गरेको अनि यसमा आपत्ति जनाउनुपर्ने कारण नरहेको बताएका छन् ।
देशभर चर्चामा रहेको यो प्रकरणमा सरकारको प्रतिक्रिया बुधबार अबेरसम्म आएको देखिदैन । बरु, सवैतिर मनाङ्गे छाएका छन् । उनका अभिव्यक्ति, सरकार र समाज माथि गरिएको प्रश्न नै चर्चामा छ । स्वतन्त्र उम्मेद्वारी दिए पनि मनाङ्गेलाई जिताउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन रहेकाले पनि बढी चर्चाको विषय बनिरहेको छ । निर्वाचन लगत्तै मनाङ्गे नेकपामै प्रवेश गरिसकेकाले उनी सत्तारुढ सांसद हुन् । सत्तारुढ सांसदले नै विधिको शासन र संविधानको सर्वोच्चता हातमा लिएर खुलेर पत्रकार सम्मेलन गर्नु तर, प्रदेश र संघीय सरकारले मौनता देखाउनु सामान्य विषय पटक्कै होइन ।
त्यसै पनि ‘कानून निरीहका लागि मात्रै’ भन्ने मनोविज्ञान आम रुपमा विकास भइरहेका बेला प्रदेश सांसद मनाङ्गेले हातपात गर्नुलाई ठीक भएको दावी सहित पत्रकार सम्मेलन नै गर्दै हिड्नुले संविधान प्रतिको भरोसा घटेर जान सक्छ । पूर्व राजसंस्थामा जस्तै गणतन्त्रमा पनि भीभीआईपीलाई कानून लाग्दैन भन्ने मनोविज्ञानको निर्माणले लामो राजनीतिक संघर्षबाट स्थापित उपलब्धीमाथि प्रश्न उठ्न सक्छ । यस्तो गतिविधिले प्रतिगमनलाई निम्तो दिने र सामाजिक न्याय स्थापित गर्न कठिन हुने अवस्था समेत सिर्जना हुन सक्छ । तसर्थ, यो प्रकरणलाई प्रदेश र संघीय सरकारले सामान्य रुपमा लिनु गम्भीर भूल हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies