काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्दै चितवनले लगातार दोस्रो जित निकालेको हो । चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो ।
पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन बनाए भने म्याट क्रिटलेले १७ रन बनाए । जोशीले २४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यी दुई बाहेक पोखराका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । चितवनका सोहेल तनविर, रिजन ढकाल र लुक बेन्केन्सटेइन ३–३ विकेट लिए भने दिपक बोहराले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । चितवनका रवि बोपाराले अर्धशतकीय इनिङ खेले । ३८ बल खेलेका उनले समान तीन चौका र छक्कासहहित ५१ रन प्रहार गरे ।
कप्तान कुशल मल्ल ३८ रनमा आउट हुँदा शरद भेष्वाकर ११ र अमर रौटेला १३ रनमा अविजित रहे । पोखराका लागि विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान २–२ विकेट लिए ।