लहान : ३३ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानसँगै मनाइएको अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा सिरहाका विभिन्न स्थानमा अपांगता भएका व्यक्तिहरूका समस्या र समाधानबारे र्याली र अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
यस वर्षको राष्ट्रिय नाराका रूपमा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’लाई प्राथमिकता दिँदै सिरहा नगरपालिकाको आयोजनामा र मुक्ति नेपाललगायत विभिन्न संस्थाको समन्वयमा र्याली र सभा आयोजना गरिएको थियो । सिरहाको बजार परिक्रमा गरेको र्याली नगरपालिकाको सभाहलमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूका समस्या र समाधानका उपायमा छलफलमा परिणत भएको थियो ।
गोलबजार नगरपालिका वडा नम्बर १३ मा नेत्रहीन संघ सिरहा र स्थानीय निकायको सहकार्यमा नेत्रहीनहरूको समस्या, सरकारका सेवा–सुविधामा सहज पहुँच र आरक्षणको प्रभावकारिताबारे अन्तरक्रिया भएको थियो । वडाध्यक्ष नन्द कुमार महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा अपांगता भएका व्यक्तिहरूको शिक्षा, रोजगारी र पूर्वाधार निर्माणमा सुधारका उपायमा गहन छलफल गरिएको थियो ।
कल्याणपुर नगरपालिकामा मुक्ति नेपाल र जिल्ला अपाङ्ग असहाय केन्द्रको सहकार्यमा सरोकारवालासँग अन्तरक्रिया गरियो। आत्मनिर्भर अपाङ्ग व्यक्तिहरूलाई सम्मान गर्दै, उनीहरूको अधिकार सुनिश्चिता गर्ने प्रतिबद्धता गरिएको थियो ।
समाजले अपांगता भएका व्यक्तिहरूलाई अझै पनि पूर्ण रूपमा समावेश गर्न नसकेको यथार्थतर्फ सबैको ध्यान जाँदासमेत यस्ता अभियानहरूले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।