
रौतहट : रौतहटको बौधिमाई नगरपालिका–८ स्थित मौलापुर–बंकुल भित्री सडकखण्डमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटकै परोहा नगरपालिका–९ निवासी २८ वर्षीय जितेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मौलापुरतर्फबाट बंकुलतर्फ जाँदै गरेको बिआर ०५ एयु ०९०५ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल तीव्र गतिका कारण आफैं अनियन्त्रित भई सडक किनारमा दुर्घटनाग्रस्त भएको थियो ।
बिहीबार बिहान करिब ५:३० बजे स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा सवारी र युवकलाई देखेपछि प्रहरी चौकी बंकुलमा खबर गरेका थिए ।
मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।