२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

भोटेकोशी बाढी : अब छैन जीवितै उद्धारको आशा

Nada
सपना बोहरा
२०८३ असोज ५ गते ०६:२५
Shares
भोटेकोशी बाढी : अब छैन जीवितै उद्धारको आशा

काठमाडौं : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट २४ जनाको शव निकालिएको छ । जलविद्युत करिडोरका सुरुङमा खोजी कार्य चलिरहँदा तीन सातासम्म परिवारले जिवितै उद्धारको झिनो आशा राखेका थिए । तर, अब त्यस्तो सम्भाव्य क्षेत्र करिबकरिब सकिएको छ । भोटेकोशी विनाशकारी बाढी आएको २५ दिनपछि उद्धारकर्मीको ध्यान शव खोजी र उत्खनन्मा केन्द्रित हुन थालेको छ । 

ncell

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका थिए । आयोजनाका अनुसार बाढी आउनुअघि त्यहाँ १ हजार ४३३ जना कामदार कार्यरत थिए । तीमध्ये ९३६ जना सम्पर्कमा आएका छन् भने ४९२ जना अझै सम्पर्कविहीन रहेको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार, माथिल्लो त्रिशूली–१ को सुरुङभित्र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेको छ । खोजीका क्रममा फेला परेका मानव अंग तथा शव निकाल्ने काम भइरहेको छ  । त्रिशूली–३ ‘ए’ को सुरुङ तथा पावरहाउस क्षेत्रमा समेत खोजी जारी छ।

त्रिशूली–३ ‘बी’ मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी पावरहाउस रहेको स्थानमा उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाइएको छ ।

रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायत प्रभावित क्षेत्रमा बेस स्थापना गरी नेपाली सेनाले पैदल गस्तीमार्फत खोजी गरिरहेको छ । स्याफ्रुबेँशी क्षेत्रमा तीन वटा समूह परिचालन गरी खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको र बाक्लो हिलोमा पुरिएको अवस्थामा प्राविधिक उपकरण ग्यास कटर र ग्रिन्डर प्रयोग गरी शवहरू बाहिर निकालिएका हुन् । 

शव खोजीमा सुरक्षाकर्मी

चिलिमे जलविद्युत् आयोजनाको सुरुङ एवं भूमिगत विद्युतगृह (पावरहाउस) क्षेत्रबाट चार वटा शव र एक मानव अंग फेला पारी बाहिर निकालिएको छ । गोताखोर र विशेष टोली सुरुङको १३० मिटर भित्रसम्म पुगेर शव निकाल्न सफल भएका छन् । 

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा यसअघि बाढी आएको १० दिनमा आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो । त्यसयता भने उद्धारकर्मी सुरुङबाट शव निकाल्ने क्रममा छन् । 

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले टिमुरेदेखि पश्चिम नवलपरासीसम्म कुनै पनि ठाउँमा शव नछुटोस् भनेर खोज तथा उद्धारको काम भइरहेको बताए । ‘बाढी पसेको ठाउँमा धेरै भग्नावशेषहरू, खोला किनारमा पुरिएका शवहरूको खोज तथा उद्धारको लागि कुकुरसहितको परिचालन भइरहेको अवस्था छ,’ उनले भने, ‘फाट्टफुट्ट रूपमा शव भेटिरहेका छन् ।’

सुरुङभित्र फसेकाहरूको खोजी नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी प्राविधिक विज्ञहरूको संयुक्त टोलीले गरिरहेको छ । बाढीले जलविद्युत् आयोजनाका सुरुङमा हिलो, लेदो र ढुङ्गा भरिएर सयौँ कामदार थुनिएका थिए ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बाढी प्रभावित क्षेत्रमा विज्ञ टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलले भदौ १० गतेदेखि नै निरन्तर खोज तथा उद्धारको काम गरिरहेको बताए । ‘भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा निर्माणस्थलमा फसेका कामदारको अवस्था यकिन गर्न सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजीलाई तीव्रता दिएको छ,’ उनले भने।

जीवितै भेटिने आशा कम भए पनि बाढी प्रभावित सबै क्षेत्रमा खोज तथा उद्धारको काम भइरहने उनले बताए । पछिल्लो पटक माथिल्लो त्रिशूली–१ को सुरुङबाट १३ शव भेटिएसँगै बाढीमा परेकाहरूको खोजी थप गम्भीर बनेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको उनले बताए ।

बाढीबाट ६ हजार १ सय ४५ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा छ । १ हजार ४ सय १० शव फेला परेका छन्। त्यसमध्ये एक सय पाँचको मात्रै पहिचान भएको छ ।

सम्बन्धित खबर